प्रधानमन्त्री सावधान !

बुद्ध नेपालमा जन्मनु भएको हाम्रा भूतपूर्व र वर्तमान प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ। ओलीजी भन्नुहुन्छ नयाँ किर्तिमान! धेरैले वाचन गेरर विश्व रेकर्ड राखियो रे, के वाचन गरियो, धम्मपद वा के हो ओली जीले राम्रोसंग उल्लेख गर्नुभएन, एकहुल तालीको आवाज आयो। वाह ओली जी।



अघिल्लो पटक हावाहुरीले उडाएछ लुम्बिनीमा पाल बुद्ध जयन्ति मनाउँदा, ओहो, ठूलो समस्या पर्यो। यो पटक अघि नै, पहिल्यै नै ५ हजार अटाउने बनाउँछू भनेर ठ्याक्कै ओलीजीले घोषणै गरिदिनु भयो।

अखबारहरुमा हेरिरहेका छौ, निर्दोष बालबालिकाहरु सुतेकै ठाउँमा गोलावर्षा गरेर मारिएछन् भन्नुभयो अनि दुख व्यक्त गर्नुभयो । ओलीजीले सिरियाको नाम लिनु भएन, सायद सिरियाको विरोधी देशको विरोधमा ओलीजी खुलस्त भइहाल्न चाहनुहुन्न।  निर्दोष बालबालिका वृद्धवृद्धा निर्दोष महिला निर्दोष जनताको हत्या भइरहको छ ओलीजीले भन्नुभयो। निर्दोष नेता पनि मरेका थिएकी? ओलीजीले निर्दोष विशेषणसंग अर्को नाम थप्नु भएन। सायद वहाँ अनुभवले बोल्दै हुनुहुन्छ।

हामी घोषणा गर्न चाहन्छौं, बुद्धको जन्मथलो, जुन बुद्ध, विश्वशान्तिका अग्रदुत, जसलाई संयुक्त राष्ट्रसंघले बुद्धको जन्मदिनलाई Vesak भनेर वैशाख दिवसको रुपमा मनाउँछ, ओलीजीले भन्नुभयो। 

बम बनाउने काम बन्द गर्नुस्! ओलीजीले ताली पाउनुभयो। 

समृद्धीको बाटो हामीले लिएका छौ, समृद्ध बनाऔ, भन्नुभयो। बाटोको बारेमा एकशब्द भन्नुभएन, गोप्य योजना होला सायद, जनतालाई खुलस्त गर्न ओलीजीले चाहानुभएन।

र म विश्वलाई आग्रह गर्न चाहन्छु भन्नुभयो। कृपया दुनियाँका नेताहरु दुनियाँका सरकारहरु दुनियाँका संस्थाहरु सबै समस्या छन् भने संवादको माध्यमबाट शान्तिपूर्ण ढंगले समाधान गरौं, युद्धबाट होइन। ओलीजीले विश्वका नेताहरुलाई पाठसिकाउनु भयो।

हो पनि, ओलीजीको विचारमा हामी पनि सहमत हुनुपर्छ। किनकी युद्धले देश सिरिया जस्तो हुन्छ, बुद्ध नेपालमा जन्मेपनि बुद्धले देखाएको बाटो नहिडी सिकाएको विधि अभ्यास नगरी अन्य विषयलाई झै वैचारिक बनाइ,  सामाजिक सञ्जालको गतिविधिमा घुसेर त्यहाँका भर्जुअल मुद्धालाई वास्तविक मुद्धाको रुपमा उचालियो नि त ओली जी? यो सर्कसले देशको नाम त विश्वका केही लाख नयाँ विदेशीसम्म पुग्ला तर के देश पनि जाला त त्यही बाटोमा ? ती देशहरुले गरेको विकास हामी पनि गरिएला त ओलीजी?

के छ विचार ? प्रधानमन्त्री पड्काएर जनतालाई एकतित्र गर्ने खुबी मात्रै छ कि यो भन्दा अगाडी पनि जाने योजना  छन् ? समय थोरै छ त ओलीजी, गर्ने त हो नी ? विकास क्या, देशको क्या, व्यक्तिगत होइन, पर्सनल्ली नलिनु है।

युद्धबाट समस्या समाधान हुने होइन भन्नुभयो।

युद्ध हाम्रो समस्या हो र ओली जी ? अन्य देशबीचका युद्धको कुरा गरेर हाम्रो जनतालाई तर्साउने ? अनि वास्तवमै तपाईहरुको पारा देखेर तर्सिरहेको जनताको मनलाई शान्त गर्न तपाईले तपाईहरुबीचको युद्धको कुरो गर्नुपर्ने थियो ओली जी? तपाइहरु बीचको पावरको युद्ध के ओलीजी। आफ्नो कुरा चाहिँ नभन्ने हो र ओलीजी ? अरु देशको मात्र उदाहरण दिने ओलीजी ? देश भित्रको बेहालको उदाहरण नदिने ? घुमाइदिने जनताहरुलाई ओलीजी? कहिलेसम्म ओलीजी ? 

तपाई अमेरिका, चीन, रसिया जस्ता देशको हुनेखाने प्रधानमन्त्री हो र ओलीजी? हुनेखाने हुनुहुन्छ पनि, दोस्रो पटक प्रधानमन्त्री भइसक्दा को चाहिँ कंगाल रहला र? हुनु पनि भएन । 

तपाईलाई अनुभव छ, देश विदेश नघुमेको मलाई अमेरिका चीनको कुरा स्पष्ट छैन, तर यति चाहि पक्का छु, ओलीजी, देशका होनहारहरु चाहीँ त्यतै छन् अमेरिका, अष्ट्रेलिया, कतार, दुबइ, जापान, कोरिया, ओलीजी तपाईको कद र पदले सुहाएन विदेशी द्वन्दको उदाहरणमा टुँडिखेलमा ताली खान। फर्काउनुस् न हाम्रो ती युवालाई देशमा फेरी, छ केही योजना समृद्धीको ? 

योजना बताउन आवश्यक ठान्नुभएन। किन ओलीजी? राम्रा योजना सुनाइदैन हो, कि छँदै छैन ओलीजी ? कि यस्तै जनताको भीडले कराएको अवास्तविक मुद्धालाई सम्बोधन गरेर मात्र बस्ने हो? बुद्ध नेपालमा जन्मेर पनि केही खुल्केन त ओलीजी ? 

किन ओलीजी ?

कुरा मात्र गरेर होला र ?  हैन होला है । योजना छन्, खाका छन्, काम पनि गरेका छौँ हामीले, हगि ! 

विश्व शान्ति तर्फ जान जरुरी छ भन्नुभयो। हो ओलीजी, हामीलाई शान्ति चाहिएको छ। ल आउनुस् बसेर कुरा गरम संवाद मार्फत, शान्तिपूर्ण ढंगले क्या ! नेपालमा अहिले द्न्द छ कि छैन ? हतियार बिसाइयो? हो, कहिले? दशक पहिले।
राजा फालियो ? फालियो।
गणतन्त्र घोषणा गरियो, संविधान पनि ल्याइयो, तपाई दुई पटक प्रधानमन्त्री भइसक्नु भयो, अनि यो अशान्ति चाहि खै कहाँनेर छ ?

नेपाल भित्रै अशान्ति?
हालसालैको ठूलो अशान्ति विप्लवको बन्दमा थियो, पसल कम खुले, स्कुल कलेज खुलेनन्, गाली कम चले, झन् शान्ति थियो, अरु कुनै दिन छ हालसालै अशान्तिको? छैन ? छ?

गोलीबारुद त बेलाबेला नेपाल भित्रै पड्किएको खबर सुनिन्छ पनि, हो, सायद ओलीजी पर्फेक्सनिस्ट हुनुहुन्छ, यी अलिअलि बचेका गोलीबारुदका घटना पनि बन्द भएको चाहनुहुन्छ, सायद यो ओलीजीको खुबी अनि साह्रै राम्रो पक्ष पनि । तर नी ओलीजी एकपटक टाउको उठाएर, ज्यान घुमाएर हेर्नुस् न है, यही हो त अहिलेको नेपालमा समस्या जुन समाधान गरिहाल्नु पर्ने भएको छ ?  यहि हो त नेपाल विकास नहुनुको प्रमुख कारण, समस्याको जरो ?

हो भने, पक्का शान्तिस्थापना हाम्रो मुख्य मुद्धा हुनुपर्छ। तर कहिलेसम्म शान्तिको पछाडी लुक्ने ओलीजी? कति प्रतिशत शान्तिलाई शान्तिस्थापना भयो भन्ने ? घरझगडा यसमा पर्छ कि पर्दैन? पर्छ भने त तनाव हुन्छ त ओलीजी, सबै नेतामहागणहरुलाई शान्तिस्थापित गरिनुपर्छ त ओलीजी? होइन भने होइन भन्नुस्। 

यी समाधान भइसकेका विषयलाई यस्सो छोडेर साच्चै नेपालमा ती युवा पुन: फर्काउने कसरी र नेपालमै कसरी अड्याएर राख्ने ? कुनै उद्योगधन्दा सञ्चालन वा कृषिप्रणालीका बारेमा केही नयाँ योजना सोच्नुस् न ओली जी। आखिर तपाई हाम्रो प्रधानमन्त्री, तपाईले नसोचे कसले सोचिदिने ?  मैले सोचेर नहुने ओलीजी। सहजै गर्न सक्ने स्थानमा तपाई भइदिनु भयो आवश्यकता सिद्ध गर्न पनि ओलीजीले केही गरिदिनु पर्यो, नत्र तपाईको विकल्प खोजिनेछ, चेतावनी होइन प्रधानमन्त्रीलाई सावधान गर्न पाइने गणतन्त्रको विधि अपनाउँदैछू, ओलीजी। विकास गरम न देशको, गाह्रो छ र ओलीजी?

आजको पत्रिकामा रोजगारीको अवसर लेखिएको थियो, १८ कटेका युवा तथा युवतीलाई रोजगारीको अवसर, काम: सिचाँइ र गोडमेल ( न्युनतम पारिश्रमिक ३०,०००) काम: खेतमा मेसिन चलाउने (न्युनत पारिश्रमिक ४०,०००), यो कृषिप्रधानदेशमा बसेर पत्रिकामा यस्तो अवसर कहिले पढ्न पाइएला ओलीजी?

No comments:

Post a Comment