ओलीसत्व

व्यक्ति विशेष रहेर टिप्पणी गर्ने मेरो कुनै शोख छैन, मन छैन। न प्रधानमन्त्रीको पार्टीको विरोधी नै हुँ। न उहाँको विरोधीको पक्षपाती नै हुँ। मनसाय त केवल 'ओलीसत्व'को चर्चा गर्नु हो। अब यो ओलीसत्व के हो भनी प्रश्न ठडिएला? आउनुस् आजको अध्यायमा 'ओलीसत्व'को विस्तृत विवरणमाथी प्रकाश पार्औ।


उत्पत्ति


ओलीसत्वको उत्पत्तिको ठेट मिति एकिन छैन। इतिहासका विभिन्न कालखण्डमा यसलाई फरक फरक नामले पुकारिनाले यसको प्रयोग कहिले र कसले सुरु गर्यो एकिन भन्न सकिन्न। राजा, पञ्च अनि राणाहरुको समयमा ओलीसत्व निकै प्रचलित थियो। जब राजा महेन्द्रले देशमा पञ्चायत शासन लागु गरे तबका केही वर्षहरुमा नै ओलीसत्वले फुल्ने फल्ने अवसर पायो। यसरी हेर्दा, पञ्चायत काल देखि यसको चर्चा र प्रयोग बढेको देखिन्छ।

पञ्चायत शासनको अन्त्य संगै ओलीसत्वलाई धक्का लाग्यो। प्रजातन्त्र आयो, ४७ सालको संविधान बनेसंगै बदलिएको देशको माहौलको नेतृत्व वर्गमा ओलीसत्व कमजोर हुँदै गयो। नेतृत्व वर्गमा सुक्न थाले पछि तल्लो तहका जनताको घरआगनमा ओलीसत्व प्रवेश गर्न पुग्यो। प्रजातन्त्र आगमन पछि देशको अवस्थामा उल्लेख सुधार भएन, अनि जनताको मन मन्दिरमा ओलीसत्वले राज गर्दै गयो। यो बाध्यतात्म अवस्था थियो। राजी खुसीले उनीहरुले अपनाएका थिएनन्। सफलताको कुनै चारा नभएपछि ओलीसत्व अपनाउन अग्रसर हुनु पर्यो। तर यो यति कारगर हतियार सिद्ध भयो कि यसमा खारिएकाहरु सफलता र प्रतिष्ठाको शिखरमा पुग्न सके। विडम्बना, केही वर्षमै माओवादी जनयुद्ध सुरु भयो। यो संक्रमणकालमा ओलीसत्वले फेरी आफ्नो प्रभाव गुमाउनु पर्यो। यो फेरी पनि बाध्यतात्मक अवस्था थियो। ओलीसत्वमा खारिएका जनताले नचाहँदै यसलाई त्याग्नु पर्यो। बचेको यहि एक हतियार प्रयोगमा ल्याउन पनि जनता डराए। 

ओलीसत्व कमजोर हुँदै गयो। अनि तत्कालिन राजाको हत्या गरियो, नयाँ राजा घोषित गरियो। नयाँ राजाको उदयसंगै पुनः ओलीसत्वले प्रभुत्व जमाउनु सुरु गर्यो।  जनआन्दोलन भयो। राजतन्त्र ढालियो। जनआन्दोलनको बलमा लोरौ टेक्दै उठेको लोकतन्त्रमा आज 'ओलीसत्व'को राज छ। आज यसको प्रमुख व्यवस्थापक तथा ब्रान्डएम्बेसेडर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जी हुनुहुन्छ।

प्रयोग


विभिन्न कालखण्डमा विभिन्नस्तरका नेतृत्ववर्गले 'ओलीसत्व'को प्रयोग गरे। लामो इतिहास भएकाले यसबारेमा विस्तृत बताउन निकै समय र अक्षर खर्चनु पर्छ। त्यसैले लोकतन्त्रपछि आजको परिप्रेक्षमा यसको प्रयोग बारे मात्र केही प्रकाश पार्औँ। 

'ओलीसत्व'को प्रयोग सबै राजनीतिक दलका नेता गर्ने गर्छन्। जति ठूलो पद त्यति ओलीसत्व उनीहरुमा देख्न पाइन्छ। यो हतियार आजभोली कट्टर कार्यकर्ता र भतुवा कार्यकर्ताहरुले पनि चलाउन जानेका छन्। लोकतन्त्रमा यो एक-के ४७ बनेको छ। अर्थात सबैभन्दा बढी प्रयोगमा आएको हतियार। 

यसलाई फरक फरक नेतामहागणहरुले आफ्नै-आफ्नै तरिकारले सञ्चालन गर्ने गर्छन। पुरानो पार्टी भएकाले कांग्रेसमा यसको प्रयोग नेता देखि कट्टर र भतुवा कार्यकर्तासम्म पुगेको छ। पछिल्लो पटकको चुनावको पूर्वसन्ध्यामा माओवादी कार्यकर्ताहरुमा 'ओलीसत्व' हावी देखिएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा 'ओलीसत्व'को अपूर्ण अभ्यास गर्छन्। र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले 'ओलीसत्व' भर्खर सिक्दै छन्।

माओवादी र कांग्रेसको कार्यकर्तामा बढी प्रचलनमा आएको ओलीसत्वको मुख्य बिउ भने एमाले अध्यक्ष केपी ओलीसंग छ।

परिभाषा


ओलीसत्वको एकै अर्थ छैन। यो बहुआयामिक र बहुपरिभाषिक शब्द हो। यसको अर्थको दायरा निकै ठूलो छ।
ओलीसत्व मुख्यतः दुइ शब्द मिलेर बनेको छ। ओली र सत्व। अर्थात ओलीले बताएको, दर्शाएको, सत्य।

राणाकालमा यसको अर्थ निकै सिमित थियो। त्यससमय यसलाई केवल 'चाकडी' भनिन्थ्यो। केही समयपछि यसको दायरा बढाइयो र यसलाई 'दुइजिब्रे'को अर्थ दिइयो। समयसंगै यसको अर्थ थपिदै गयो, जनमानसले यसलाई 'दहिचिउरे' भनी अभ्यास गरे। कसैले यसलाई 'लफङ्गोपना' र 'गफाडीपना'को अर्थ लगाएपनि यसको प्रयोग भने अलिक फरक तरिकाले गरियो। जस्तो कि लफङ्गोपना र गफाडीपनामा गफ  बेतुकको गरिन्छ, बिना सन्दर्भको जोडिन्छ र उद्धेश्यबीना ठिकिन्छ। तर ओलीसत्वको अभ्यास गर्दा कुरा बेतुकका लाग्दैनन्, सन्दर्भ र प्रसंङ्ग स्थापित गरि उद्देश्य सिद्ध गरि व्यक्त गरिन्छ।

केपी ओलीको आगमनसंगै ओलीसत्वले आफ्नो अर्थ अझ फराकिलो पार्ने अवसर पायो। आजभोली यसले राष्ट्रयता पनि झल्काउँछ। यसको प्रयोग पछि यत्रतत्र छरिएका जनताको कान ठाडो र मुख बाठो हुने हुँदा यसलाई नेपाली बौद्धिकतासंग पनि जोडिन थालेको छ। 

समग्रमा परिभाषित गर्दा 'चाकडी  गर्न र दुइजिब्रे तथा दहिचिउरे अभ्यासमा राष्ट्रियता झल्कने गरि प्रसंग, सन्दर्भ स्थापित गर्दै समिति उद्धेश्य प्राप्त गर्न प्रस्तुत गरिने लफङ्गोपना तथा गफाडिपना सहितको बौद्धिकता'लाई ओलीसत्व भनिन्छ।

प्रयोगको तरिका र असर


ओलीसत्व निकै कारगर हतियार हो। अघि नै भनिसके, राजनीतिमा प्रयोग भइरहेका प्रचलित सिद्धान्तहरु भन्दा नयाँ, फरक र शक्तिशाली सिद्धान्तको रुपमा यो प्रमाणित भइसकेको छ। यसको प्रयोग र असरहरुबारे  राजनीति शास्त्रका विद्यार्थीहरुबीच  बहस त हुने नै छ, आउनुस् यहाँ पनि केहीबेर चर्चा गरौं र यो चर्चा यसको बढीसकेको दायरामा रहेर गरौ। अर्थात ओलीसत्वको जिम्मेवारी सम्माननीय प्रधानमन्त्री ज्युले प्रधानमन्त्री हुनुभन्दा अघि देखि सम्हालेपछि यसले देशमा ल्याएको परिवर्तन र उहाँको जीवनमा पारेको प्रभावमा केन्द्रित भऔँ।

जब भारतले मधेश उचालेर नेपालमाथी नाकाबन्दी लगायो ओलीसत्वले ओली मार्फत एक नयाँ अर्थ विस्तार गर्न सक्यो; राष्ट्रियता। राष्ट्रियता ओलीसत्वको एक अभिन्न अंग हो। तर यो अलिक भिन्न रुपमा अभ्यास गरिन्छ। 

एक ठूलो स्थान भित्र समस्या परेपछि मात्र सोच्ने र योजना बनाउनेहरुलाई चारैतिर बार बारेर थुनिएको थियो। उनीहरुलाई नियमाअनुसार बाहिर निस्कने र भित्र छिर्ने सुविधा पनि दिइएको थियो। कुनै कारणवश भीत्र भइरहेको हर्कतले वा बार बार्नेको दिमाग सट्किएपछि भित्र सप्लाइ भइरहेको अन्नपानी बन्द गराइयो। भित्रको जीवन कष्टकर बनाइयो। भित्रको वातावरण तनावग्रस्त बन्यो। 

अनि भित्र दिमागको बत्ती जल्न थाल्यो। ज्यान पाल्न धौधौ परेपछि अनेकन उपाय निकाल्न थालियो। जलस्रोतको दोस्रो धनी देश भनी पढिआएकाहरुले यसबाट कमाइ गर्नुपर्ने उपाय सुझाए, कसैले बन्द भएका कलकारखाना खोलौँ भने, कसैले बाँझो बसेका हजारौं खेतबारीमा अन्न फलाऔँ भने, कसैले बाहिर गएका युवावर्गलाई फर्काउन उपाय खोजौँ भने। 

संगै आलाकाँचा युवा, कट्टर र भतुवा कार्यकर्तामा ओलीसत्व मौलाउन सुरु भयो। एकाएक  ओलीसत्वको दायरा बढ्न थाल्यो। किनकी उचित निर्णय र सहि योजना उनीहरुको वसमा थिएन। ओलीसत्वको अभ्यास सजिलो थियो। अवसरको फाइदा उठाउँदै ओलीसत्वको बागडोर एक हर्ताकर्ताले सम्हाल्नु भयो। 

अन्ततः ओलीसत्वले सबै उपायहरु पाखा लगाउँदै अन्नपात बन्द गराएको पक्ष विरुद्ध भित्रबाटै हतियार चलाउन सुरु गर्यो।  यो क्षेत्रमा केवल विरोधका स्वरहरु गुन्जिन थाल्यो। हडताल गरियो, अनि झनै अवस्था जटिल बनाइयो। अनि राष्ट्रियता बचाउन भनी राष्ट्र बाहिरको पक्षलाई गाली गर्न थालियो। मतिभ्रष्ट्रहरुको सङ्ख्या र मानसिकता ओलीसत्वले दिन दुइगुणा र रात चारगुणा गरि बढाउन थाल्यो। लामो समय संघर्ष चल्यो। तर कुनै सिप लागेन। त्यैपनि ओलीसत्वले उक्साइरह्यो, अनि उनीहरु उक्सिरहे। 

अन्ततः जसरी बन्द भएको थियो त्यसरी नै अन्नपानी सप्लाइ सुरु भयो। अकस्मात ओलीसत्व सेलायो। ओलीसत्वको राष्ट्रियताले हावा खायो, विरोधको स्वरलाई राष्ट्रियता नाम दिइएको टाठा बाठाले पत्तो पाए।ओलीसत्वको उद्धेश्य यहाँ फलिफुलाउ गर्ने होइन रहेछ, उचालेर उफारेर राष्ट्रियता स्थापित गरि आफ्नो दुनो सोझ्याउने अर्थात चाकडी गर्ने बाटो बनाउने रहेछ भनी तत्कालै केही व्यक्तिहरुले बुझे।

विरोध सजिलो  छ र विकास गाह्रो छ। त्यसैले ओलीसत्वको गुलाम धेरै भए। अनि त ओलीसत्वको बागडोर सम्हाल्नेले यो सबैको प्रतिनिधित्व गर्न पायो। 

अब रोचक कुरा सुन्नु न, जसको विरोधमा उफ्रिएर आफु उत्रिए, उचालिए नि, हो उनैलाई घरमा बोलाएर माला लगाए, देश घुमाए, खाना खुवाए अनि हरेक स्तरको स्वागत सत्कार गरे। 

र, म भन्छु यो एकदमै सहि निर्णय हो। जसले आफुलाई ठाउँमा पुर्यायो उसलाई स्वागत सत्कार गर्नु नैतिक हिसाबले ठिक कदम हो। 

र, जुन विजुली बनाउने भन्ने योजना थियो नी,  हो, त्यो उपहार स्वरुप उतै गयो। 'ओलीसत्व'को परिभाषा बुझेकाहरुले यसको सम्भावना पहिल्यै आंकलन गरेका थिए। 

अनि, खेतीबारीमा अन्न फलाउने योजना थियो नि, हो यही काम गर्न यहाँका कट्टर र भतुवा कार्यकर्ता सहित सोझाहरु सबै  बाहिर उडे, आजभोली उनीहरु उतै व्यस्त छन्, देश विकास गर्न, अरुको।

उद्योग सञ्चालन गर्ने अर्को योजना थियो। हो ती त बन्द गरिए, अनि बेचिए। रोजगारीको अभावमा सबै बाहिर पो उडे, कठ्ठै! 

अर्को रोचक कुरा सुन्नुहुन्छ? यो देश, समस्या परेपछि मात्र सोच्नेहरु भएको ठाउँ क्या, हो, अहिले पनि उस्तै छ, बाहिरका महोदयको दिमाग सड्कियो भनेर फेरी पनि नाकाबन्दीको सम्भावना बोकेर बसेको छ। तर नआत्तिनुस्, हामीसंग 'ओलीसत्व'को हतियार छ।

मजेदार कुरा त ओलीसत्वको बागडोर सम्हाल्नेहरु अहिले मन्त्री छन्, प्रधानमन्त्री भएका छन्। कालो सिसाको गाडी भित्र साइरन बजाउँदै उनीहरु राजधानीको गल्लीहरुमा शक्ति प्रदर्शन गर्छन्। पैसाको हालिमुहाली छ, देश विदेश भ्रमण गर्छन् अनि सिंहदरबारको कोठामा बन्द छलफल गर्छन्। किनकी ओलीसत्वको दायरा बढाउनु छ।

तिमी चाहि के भयौं ? हँ, ए कट्टर, भतुवा कार्तकर्ता? 

के खुल्क्यायौं ओलीसत्वको प्रयोग ले? दुइ कठ्ठा जमिन अनि छोरा छोरीलाई भिसा?

के गरिस् ए मूर्ख मानव ? पार्टीको झण्डा बोकिस् ? रक्सी र मासु कोचिस् ? जिन्दावाद र मूर्दावाद चिच्याइस ?

के खाइस् ए अबुझ ? धुलो, धुवाँ र धमिलो पानी ? अरुको पैसा र जिन्दगी ?

भन्न न ए हुतिहारा ? खेतबारीमा अन्न फलाइस ? गाइवस्तु पालिस् ?

उठ् न ए नामर्द ! के सिन्को भाँचिस् ? जुवा तास खेलिस् कि चुरोट गाँजा तानिस् ? 

बोल्न ए लाश ! देश विकास गरिस् कि सुतेर बसिस ? छिमेकीसंग झगडा गरिस् कि अर्काको लोभ गरिस् ?

मान्छेको जीवन पाइस्, सोच्न ए पशु !  के गरिस् त तैले देशको लागि ? मनन गरन ए मानव, के गरिस् तैले तेरो लागि ?

साच्चै भन न ए मानव के पाइस्, आँपको कोया कि मखैको खोयाँ?

No comments:

Post a Comment