तिम्रो हिन्दु धर्म

तिम्रो जन्मभूमी, पूर्खाको पसिनाले भिजेको, शहिदको रगतले रंगिएको, बुद्धहरुको, हिमालहरुको शान्ति देश, सुन्दर देश। टाउको घुमाएर हेर त, तिम्रो देश त सामान्तिहरुको देश, सतिले सरापेको देश, अतिवादको देश, खोक्रा राष्ट्रवादीहरुको देश भएछ।

कहिल्यै कसैले कब्जा गर्न नसकेको, सार्वभौम, शक्तिशाली देश। मुन्टो उठाएर हेर, तिम्रो जन्मभूमी त भुसतिघ्रेको देश भएछ, भ्रष्टाचारीको देश बनेछ, केवल दरिद्र बस्छन् यो देशमा आजभोली। कामचोरको बिगबिगी बढेछ, अन्धभक्त र राष्ट्रभक्त एकै परिभाषामा अट्ने भएछन्, चोर र फटाहहरुका बीचमा तिमी पनि उस्तै बनेछौ, मानवियता गुमाएछौ अनि बुद्धी भुटेर रक्सीसंग पिएछौ।

उखानेहरुको देशमा सपना देख्न सिपालु बनेछौ, धरातल गुमाएछौ, धर्म भुलेछौ, वास्तविकता लुटिएछ तिम्रो। न तिमीले पत्तो पायौं, न अरुको नै सुन्यौ।

सनक नचढाइ सुन, सुतेको तिम्रो मगज जगाएर पढ, किनकी 'तिम्रो धर्म'को धज्जी उडाउँदै छु। तिम्रो खोक्रो मानसिकतामा थौरै चेतना भर्ने प्रयास गर्दैछु।

तिम्रो प्यारो सनातन धर्म, हिन्दु धर्म।
तिम्रो धर्म के भन्छ ? असल बन भन्छ। भन्छ सत्य बोल। लतमा नपर। सच्चा आजिविका गर। तिम्रो धर्म भन्छ मन वसमा गर। तिम्रो धर्म भन्छ छलकपट नगर।

अहँ, तिमी बुझ्दैनौ यस्ता अर्ती, यस्ता उपदेश। किनकी तिमीले आफ्नो मानसिकताबाट धर्म उब्जाएको छौ, पोलेर खायौं ती वैज्ञानिक मुल्यमान्यता, आजभोली कर्मकाण्ड पो गर्छौ तिमी, ढुङ्गा देखेपछि छोएर शुद्ध हुने विश्वास लिएको तिम्रो संकुचित मगज केवल दरिद्र सोचले भरिएको रहेछ।

तिमी त चोर्छौ, लुट्छौ, च्याठ्ठिन्छौ, पिट्छौ, पिउँछौ। किनकी तिमीले जानेको धर्म यही हो, तिमीले मात्र यहि धारण गर्न सक्छौ। तिम्रो क्षमता गिरेछ, कठ्ठै।

धर्म समेत डुबाएर मर्ने भयौ। कठ्ठै तिम्रो मगन्ते सोच।
....

समाचारका हेडलाइनमा हिन्दु धर्मको कारण विकास हुन नसकेको डा. भट्टराइको भनाइ पढेपछि भाषण सुन्न कर लगायो। सामाजिक सञ्जालमा ठूला विषय उठान गर्ने क्षमता भएका 'अध्ययन धेरै गरेका' दिग्गजहरुको कमेन्ट पढेपछि यो नलेखि बस्न सकिन।

भनाइको तात्पर्य नबुझी त्यसमाथी केमन्ट गर्ने महानुभावहरुको 'धर्म' ज्ञान देख्दा निकै दुखित बनायो। डा. भट्टाराइले संकेत गर्न खोजेका विषयको गाम्भीर्यता नबुझेको देख्दा जुन व्यक्तिहरुलाई ठूला विद्वान ठान्थे ती त 'गोबर गणेश' रहेछन्, देश बन्न नसकेको राम्रो कारण भेटे।
....

'जुन धर्मले संस्कृतिले यो जन्ममा नै समृद्धी हासिल गर्नुपर्छ, विकास हासिल गर्नुपर्छ, खुसीपना हासिल गर्नुपर्छ भन्दैन, अहिले दुख गर अर्को जन्म पाउँछस् भन्दिन्छ, त्यो संस्कृितले विकास गर्दैन।'

हिन्दु संस्कृतिमाथी टिप्पणी गर्दै बाबुरामले गरेको भाषणको अंश हो यो। यो वाक्यांसमा कहाँ नेर छ झुठ, के चाहीँ गलत छ ?

स्वर्ग र नर्कको लोभ र डरमा हुर्किएको समाज हो यो। काँतरहरुको जमात हो। भाग्यको भरमा दौडिन्छन्, कर्ममा विश्वास गर्दैनन्, परिवर्तनसंग डराउँछन्।

...

हिन्दु धर्मका ग्रन्थहरुमा आशा र डर मात्र दर्शाइएको छैन। सत्कर्म र सहि चिन्तनको वैज्ञानिक पद्धती र विधिहरु समेत वयान गरिएको छ। तिम्रो छटपटिएको मनलाई वसमा पार्ने 'सटिक' प्रविधि 'स्टेप बाइ स्टेप' बताइएको छ।

तर गर्यौं तिमीले ? पालन गर्यौ त्यो धर्म ? अभ्यास गर्यौ यी विधि ? नियन्त्रणमा छ तिम्रो मन ?

चिया पसलमा चिया र चुरोट तान्दै गाली गर्न सजिलो छ। स्मार्टफोनको किबोर्डमा 'ट्याप ट्याप' गरी कमेन्ट गर्न सहज मान्छ तिम्रो 'मन्द बुद्धीले'। तिम्रो जमात यसैमा खुसी छ, त्यसैले त दरिद्र बनेका छौ। गरिब बनेका छौ। संसारको सबैभन्दा सुन्दर देश कुरुप बनाएका छौ।

यो जन्ममा तिमीले उल्लेख्य के गर्यौ ए देशभक्त ?

तिम्रो मूल्यवान जीवनलाई उकास्ने कर्म गर्न कहिले तात्यौं ए सामाजिक सञ्जालधारी ?

तिम्रो चिन्तनमा खोइ कहाँ छ धर्म ? हँ ए कट्टर हिन्दु ?

तिमीलाई तीनै उखानेहरु नै ठिक छ, त्यो भन्दा माथीको चिन्तन तिम्रो दक्षताले भेट्दैन पनि।

विशाल धर्मग्रन्थहरु न तिमीले पढ्यौ, न पढेर कहिल्यै पालना गरौ। देशका झन्डै आधा जनसङ्ख्या अन्धभक्त काँतर छन्। भित्रभित्र यस्तो गरिबी पालेका छौ, अनि बाहिर नारा लगाउँछौ समृद्धीको?

हुँदैन यो देश समृद्ध !

देश के हो ? तिमी, तिम्रो परिवार, तिम्रो समाज मिलेर बनेको होइन देश ? तिमी नै 'हरिप' छौ, कसरी बन्छ तिम्रो देश समृद्ध, कसरी हुन्छ विकास ? उखान, सपना र कल्पनाले ?

होइन होइन, देश त थर्काएर बन्छ, गम्भीर बिषयमा छलफल होइन, त्यसलाई गाली गरेर बन्छ।

यो देशलाई लोकतन्त्र आवश्यक छैन। यो देशमा केवल एकतन्त्र चाहिन्छ।

लोकतन्त्रमा के गरिन्छ ? विषयको उठानपछि छलफल गरिन्छ, आफ्नो राय राखिन्छ, होइन भने चुप बसिन्छ। अर्को व्यक्तिको विचारलाई तार्किक खण्डन गरिन्छ।

अहँ यो देशमा त सबै 'आइमाइ' छन्। यो 'आइमाइ प्रवृति' महिलामा निकै कम छ, पुरुषमा ज्यादा छ। वक-वक गरिहरने, फट-फट गरिरहने। तर्क दिन नसक्दा गाली गर्ने, चिच्याउँने, च्याँठिने। यस्ता मानसिकता लिएर देश बन्छ?

यो जमात आफुलाई बढो साहित्यिक ठान्छ, देशभक्त मान्छ। कसैले तर्क गरे, सुझुबझ भन्दा माथीको प्रसंग निकाले खेदोखन्ने प्रवृतिको छ। यसमा स्वस्थ वैचारिक क्षमता छैन। आलोचना गर्ने र गाली गर्ने यो समुहको प्रमुख विशेषता हो।

ठिक बेठिक छुट्याउने क्षमता नभएको यो जमात प्रत्येक घटना, खबर, समाचार, भाषण र परिस्थिति अनुसार आफ्नो धार परिवर्तन गरिरहन्छ। दहिच्युरे प्रवृति हावी छ।

जो क्षमतावान छन्, उनीहरु प्रत्येक विषयमा गहिर्याइ देख्छन्, तर्क गर्छन् कि चुप बस्छन्।

जस्तो कि, डा. भट्टराइको यही विषय। किन अड्कियो त देशको विकास, हिन्दु धर्मले नै हो त, होइन भने अरु के-कारण छन् ? यदि हो भने, हिन्दु संस्कृतिमा भएका कमजोरीलाई कसरी हटाउने, जनतालाई कसरी चेतनशील बनाउने ? कुनै विधि छ जुन वैज्ञानिक पनि होस् र व्यक्तिको मानसिकता पनि परिवर्तन गरोस् ?

खै यस्ता प्रश्न उब्जिएको ? खै लोकतन्त्रको सहि प्रयोग भएको ? खै वैचारिक लडाइँ लडिएको ? खै तर्क वितर्क गरिएको ?

सधै च्याँठ्ठिएर मात्रै विकास हुन्छ? उचालिएर, उचालेर कहिले सम्म देशलाई घिसार्ने ?

आजभोली बाबुराम देखेर दया लाग्न थालिसक्यो। विचारा कति भनुन्, वैचारिक चिन्तन भएन, समृद्ध त्यसै आउँदै, आमुल परिवर्तन हुनुपर्छ। डा. भट्टराइले बुझाउन सक्ने भएनन्। किनकी कोही तयार भइदिएनन्, न कसैलाई परिवर्तन गर्नु पर्या छ, न कसैलाई विकास चाहिएको छ। केवल नारा नै रहने भयो, समृद्ध हाम्रै पालामा।


आफु कसरी सुध्रने तिमीले कहिल्यै सिकेनौ। जहिल्यै अर्कोलाई हेर्यौ, खोट पत्ता लगायौ, आलोचना गरौ, वहस त गर्यौ तर विषयमा होइन व्यक्तिमाथी खनियौं। तिम्रो धर्मले आत्मकेन्द्रती हुन सिकायो तर तिमी हुन सकेनौ, बहिर्मुखी मात्रै रह्यौ। एक कट्टर हिन्दुवादी, यस्तो दशा बोकेर हिन्दु धर्मको वकालत गर्न तिमीलाई लाज लागेन ? यस्तो मनोदशा पालेर हिन्दु धर्मको रक्षा गर्न उत्रिएको तिम्रो मानसिकताको पशिुपति नाथले रक्षा गरुन्।

No comments:

Post a Comment