खोलाखोलै जाओस् देश !

सधैँ कठोर लेख मात्र ठिक हुदैन । अलिक नरम लेख्न पर्यो भनि विषयवस्तु खोज्न थाल्छु तर सधै झै एउटा न एउटा नचिताएका प्रसंग अगाडी आइहाल्छन्। अनि नरम लेख्ने सोच त्यसै रहन्छ। आशा देखाउने र मन शान्त पार्ने काम हाम्रा 'ओलीबा'को जिम्मेवारी हो, त्यसैले वहाँको काममा दख्खल पार्न चाहन्न, आखिर प्रधानमन्त्रीसंग कम्पिटिसन गर्न सकिदैन पनि।


व्यक्ति विषेश रहेर नलेखौँ भन्छु, तर के गरौ, नमुनाहरु अलौकिक प्रतिभाको प्रदर्शन गर्छन्, नलेखि बस्न सक्दिन।

एप्पलको सामसुङ मोबाइल भनेर चर्चामा आएका हाम्रा विद्वान सञ्चान मन्त्रीजीले नेपाल टेलिभिजनको कार्यक्रम नै रद्ध गरिदिनुभएछ। अन्तर्वार्तामा आफ्नो पोल खुल्ने गरि प्रश्न गरेपछि सन्किएर उहाँले यो मनकारी निर्णय गर्नु भएको हो। यसले मिडियामा चर्चा चल्ने गरि काम गर्ने मन्त्रीजीको इच्छा पुरा भयो। देशले कस्तो मन्त्री पाएछ र, हाम्रा उखाने प्रधानमन्त्रीले कस्ता 'जिम्मेवार', 'शिक्षित' व्यक्तिहरुलाई मन्त्री बनाउनु भएको रहेछ पनि प्रष्ट भयो। यो संगै देश समृद्ध हुने सपना पुरा हुनेमा पनि अब विश्वस्त हुन सकिने भयो।

यसरी मन्त्रीहरुको मनस्थिति माथी प्रश्न गर्दा कारवाहीमा परिएला भन्ने डर। 

यी दुखीआत्माहरु आफै त मानसिक दरिद्रताको शिकार भइरहेका छन्, यिनले देशको विकास गर्छन् भन्नुभन्दा ओलीजीको पानीजहाज सम्भव छ भन्नु वास्तविकताको नजिक होला।

हालै प्रधानमन्त्री ज्युले प्रदेश सभा १ को बैठकमा सम्बोधन गरेछन्। घण्टौं।

के बोले प्रधानमन्त्री ज्युले घण्टौ ? 

साहित्यिक ज्ञान प्रदर्शन गर्न अवसरको खोज्ने हाम्रा ओलीबाले कुनै उल्लेख्य कुरा गरेका छैनन। उही सुस्त पारामा मुस्कुराउँदै बाङ्गा कुरा गरे, सफलता र समृद्धीको नारा लगाए, कसैलाई व्यङ्ग गरे, सरकारको बचाउ गरे। मैले उनको त्यो भाषण सुनेको छैन। सुन्नु आवश्यक पनि छैन, किनकी ओलीजी न दुरदर्शी हुन, न सक्षम योजनाकर्ता नै। हाम्रा प्रधानमन्त्रीसंग भएको खुबी, खुसी पार्ने हो, चाप्लुसी घस्न र आकर्षित गर्ने कला नहुँदो हो भने ओली न 'राष्ट्रवादी' बन्थे, न प्रधानमन्त्री नै। 

सरकारका प्रवक्ता पनि रहेका सञ्चार मन्त्रीको रसायनमा पटक्कै नियन्त्रण रहेनछ। सन्किहाल्ने। सायद मन्त्री हुँदाको दम्भ हुनुपर्छ। यस्तो व्यक्तित्वले यी कसरी सन्तुलित रहन्छन् ? अनि अन्यलाई सहभागी गराएर छलफल कसरी गराउँछन् ? कुनै योजनामा बसेर काम हुनेसम्म त म सम्भावना पनि देख्दिन।

चुनाव पछि दुइ पार्टी मिल्ने र ढेड-ढेड बर्ष प्रधानमन्त्रीको कुर्सीको बलात्कार गर्ने योजना बनाएका हाम्रा अग्रणी नेतागण ओलीजी र प्रचण्डजीको मनसाय बाहिरिए पछि देश फेरी खोलैखोलै लगे भन्ने प्रष्ट भइसकेको थियो। झिनो आशा बाँकी थियो, ओलीजीले यस्ता नमुनाहरुलाई मन्त्रीपद सुम्पनु भएछ, वाह ! ओलीजी तपाईको दृष्टीलाई मान्नै पर्छ, बढो गज्जबले देश समृद्ध हुने भै'गो नि।

जो व्यक्तिसंग कुनै गम्भरी विषयज्ञान हुँदैन, दुरदृष्टी हुँदैन, तार्कित क्षमता हुँदैन, उनीहरु 'राइनो' होइन गैडा भन भन्दै भाषण ठोक्छन्। यो भन्दा गतिला वाक्य त हुनुपनि पर्यो पनि मगजमा। राष्ट्रवादले ओतप्रोत हाम्रा नेता। कस्तो दुर्भाग्य पाएछ यो देशले।

यी बुढा पुस्ताहरु जबसम्म पदमा रहन्छन् तबसम्म सकिनसकी 'रेप' गर्ने भए। बाँकी के नै बचेको छ र, बचेको पनि तहसनहस हुने भयो।

बाटो छैन, पुल छैन, विद्यालयको अवस्था दयनीय छ, सरकारी कार्यालयमा जानुस् हामीलाई मान्छे गन्दैनन्। कर्मचारी तन्त्र पुरै अस्तव्यस्त छ, एउटै कार्यालय भित्र भएका विभागहरु बीच समन्वय छैन। राजधानीकै हावाले मार्ला जस्तो छ। सरकारले नै एप्प्रुभ गरेको जनताको पैसा लुट्ने संस्था बनेका छन् स्कुल र कलेज। अनि ओलीजी सुनाउँछन् पानीजहाजका सपना!

दैनिक पिउने पानीमा दिशा मिसिएको छ। तरकारी बासी र सडेगलेका बेचिन्छन् त्यो पनि चर्को मुल्यमा। देशमा पटक्कै उब्जाउ छैन, झण्डै सबैजसो कुरा आयता गरिन्छ, भारत सहित अन्य देशबाट। त्यसैले मुल्यको कुनै ठेगान छैन, बढ्या बढ्यै गर्छ। अनि ओलीजी सुनाउँछन् रेलका योजना!

कस्ता नेता जन्माएछौ ए नेपाली ? जनताको हातमा अधिकार आयो रे ! हाँस्नु कि रुनु ?

प्रधानमन्त्री बन्न पालो कुरेरे बसेका प्रचण्डजी आजभोली कार्यकारी राष्ट्रपतिको भाषण ठोक्दैछन्। कार्यकारी राष्ट्रपति भए सांसदहरु मन्त्री हुने थिएनन्, राष्ट्रपति आफैले छान्न पाउँथे। म ग्यारेन्टी दिन्छु, संविधान संसोधन भएर यो व्यवस्था आएछ भने पनि यी नमुना बुढाखाडाहरुलाई झनै गज्जवको अवसर आउँथ्यो। आफ्नै परिवार भर्ती गर्थे। देशलाई झनै मिलेर लुट्थे। याद गर्नु, यस्तै हुनेछ।

अर्को कुरा पनि पक्का छ, यो ५ वर्षमा देशमा फुट्टी कौडी विकास हुनेछैन। नकारात्मक सोचेको होइन, वास्तविकता हो। विकास होला भनी आशा देखाउन पनि सक्दिन, किनकी यो ओलीजीको ठेक्का  हो। 

र मेरो चाहाना छ, यो ५ वर्षमा विकास हुनु हुदैन। देश यस्तै रहनु पर्छ। बरु यसको असर भोग्न म पनि तयार छु। 

अहँ पटक्कै हुनु हुदैन समृद्ध। मेरो इच्छा, देशमा अापतकालिन अवस्था आओस्, विकराल परिस्थिति बनोस्, संकटकाल नै घोषणा गर्नुपर्ने होस्। 

किनकी जनताको गिदीमा लोकतन्त्र घुसाउन अर्को कुनै विकल्प देख्दिन । मस्त सुतेका छन् नामर्दहरु।

सत्ताबाहिर कांग्रेस के गर्दैछ, नारा लगाउँदै छ। मूल्य वृद्दी भयो रे! प्रधानमन्त्रीको पुत्ला बनाएर जलाएछन् । कांग्रेसका अबका सशक्त नेता गगन थापा ओलीबाट संघीतयालाई खतरा छ भन्दै भाषण ठोक्दैछन्। यो सारै गज्जब हो। सत्तामा बस्ने उस्तै छन्, सत्ता बाहिरका पनि उस्तै, नामर्दहरुले देश बनाउने ठेक्का लिएका छन्। अनि हामी, हामी त नामर्दका राजा, ट्वाँ परेर रमिता हेर्दै छौ। वहा ! लोकतन्त्र, वहा ! संघीतया। यहि होला विकास, यहि होला परिवर्तन।

कसैसंग छैनन् योजना, प्रष्ट नीति, स्पष्ट अभिव्यक्ति। कमसेकम समस्याको जरो यो हो भनी कसैले त देखाइदिओस् न, छैन त्यो पनि।

यो देशका जनता के गर्दैछन्, करिअर बनाउँदै छन्। बाँकी बेरोजगारहरु फुटबल हेर्छन्, क्रिकेटमा रात फाल्छन् अनि बाइकमा बत्तिदैँ बाटो बनाउन नसक्ने सरकार भन्दै धारे हात गर्छन्। कस्तो बिडम्बना, स्वाँ स्वाँ गर्ने बुढाहरु सत्तामा छन्, ठिटाहरु पाखुरा निमोठ्दै जर्मनी र ब्राजिल, भारत र पाकिस्तान गेममा व्यस्त छन्। 

देउवाबाले भन्नु भएथ्यो, विकास भइरहेकै छ त। 

ठिक हो, विकास भइरहेकै छ, दरिद्रताको विकास भइरहेछ, गरिबीको विकास भइरहेछ, चिन्ता, असुरक्षा र बेरोजगारी समृद्ध बन्दै छ। र यो निरन्तर हुनु आवश्यक छ, जबसम्म क्यारेमबोर्डमा हाल्ने मैदा खानुपर्ने बाध्यता आउँदैन तबसम्म यो रोग फैलनु आवश्यक छ। जबसम्म फेसनेवल अल्लारेहरुका जिन्स र टिसर्ट वास्तवमै च्यातिदैन, तबसम्म यो भाइरसले आतंक मच्चाउनु आवश्यक छ। जबसम्म कंकाल देखिने गरी शरिर सुक्दैन तबसम्म यो गरिबी बढ्न आवश्यक छ। यो देशलाई फेरी एकपटक गरिबी चाहिएको छ।

विपनामा समृद्दी कसैले आवश्यक ठानेनन् किनकी पानीजहाज र रेल सपनामै पुरा हुन थाले। ओलीजीलाई यसको लागि धन्यवाद टक्राउनै पर्छ। अनि अस्तव्यस्तता फैलाउन मद्धत गर्ने वहाँका मन्त्रीगणहरुको विद्वतालाई साङ्टाङ्ग दण्डवत् दिनै पर्छ। सबै भन्दा बढी आदार सम्मान त जनतालाई दिन पर्छ, तपाईलाई दिनुपर्छ, किनकी यस्तो मुर्दाजस्तो जीवन जिइदिनु भयो, सके अमेरिका-अष्ट्रेलिया, जापान-कोरिया गइदिनुभयो, देशमा भ्रष्टाचार मौलाइदिनुभयो, कमिसन बिना काम गरिदिनुभएन, भैसीका मासुसंग रेड लेबल चुस्दै ठूला गफ हाँकिदिनुभयो, अनि बेला-बेला राजनीतिक गफ दिएर आफ्नो विद्वता सावित गरिदिनुभयो। तीनै गफाडी नेताहरुलाई अवसर दिनुभयो, अनि चुनावपछि गरेनन-गरेनन भनेर चुकचुकाइदिनुभयो। धन्यवाद तपाईलाई!


No comments:

Post a Comment