सफलताको सुत्र

तिमी सफलताको पछाडी लागेका छौ, जीवनमा भव्यता खोज्दै छौ। 
खुसी चाहिएको छ, सुख, सन्तुष्टी चाहिएको छ। हर प्रयास गर्छौ, मरिमेट्छौ, सन्तुष्टी भेट्दैनौ। दाँयाबाँया हेर्छौ, सबै दौडिरहेका छन्, खटिरहेका छन्, तिमी पनि लागिरहन्छौ, दौडिरहन्छौ । आफु हिडेको बाटो नै सास्वत ठान्छौ, ध्रुव मान्छौ। 

कहिले देखि दौडिरहेछौ, कहिले सम्म तड्पिरहन्छौ ? 


रुदैँ रुदैँ जन्म्यौ। हावा चाहियो, पानी चाहियो, दुध चाहियो। सबै पायौं, रुन छोडेनौ। मुखमा अन्न पर्यो। मुख विगार्यौं। हैन, फेरी चाहियो चाहियो चिच्यायौं,करायौं। शरिर बनायौं, आकार बढायौं। अनि नाना चाहियो, पापा चाहियो। 

हेर न तिमीलाइ भुलाउन के गरिएन? तिम्रो मन डुलिरह्यो, अशान्तै रहिरह्यो।

तिम्रा महत्वाकांक्षा बुझी तिमीलाई स्कुल हालियो, ठूला मान्छे बन्लाउ भनी शहर पठाइयो। तिम्रो डुलुवा मन डुलिरह्यो, किताबमा भन्दा अफेअरमै भुलिरह्यो।
बढ्दै गए तिम्रा चाहना । नाना-पापा होइन, बुनु पिया  र पियारी खोज्दै गयौ।
आफुलाई सजायौं, सिंगार्यौ। तिम्रै कारणले  अनेकन उद्योग खोलिए। क्रिम पाउडर, लिपिस्टिक, चिपिस्टिक, लुगा, जुत्ता, औँठी माला,  सैलुन, ब्युटी पार्लर बजारमा छ्यापछ्याप्ती भेटिए। अहँ तिम्रो दौड सकिएन।


तिमीले गियर चढायौं, गति बढायौं।  कसरी बन्छ, किन बन्छ कहिल्यै हेरेनौ, तिम्रै शरिर भित्र उत्पन्न भएको ख्यालै गरेनौ। रसायनको पिण्ड तिमी, अल्झिरह्यौ, भुलिरह्यौ। उल्टै तिम्रो अतृप्त आत्माले रसायन खोज्यो। बाहिरबाटै ठेलिरह्यौ, पिइरह्यौ, सुघिँरह्यौ, घोचिरह्यौ।

कहाँ गएनौ तिमी 'फ्रेस' हुन, 'कुल' बन्न? खल्तीमा सय-सयका नोट लिएर भौतारिरह्यौ, सिनेमा घर, रेस्टुराँ, डान्स बार अनि कोठी।  शान्तिको आशामा सुखको खोजीमा।  अहँ, तिम्रो खोजी सकिएन।

कहिले सकिन्छ तिम्रो यो अन्वेषण, सन्तुष्टीको उत्खनन ? 

क्षमता बढायौं, बुद्धी बढायौं। अनि जागिर पड्कायौं। अनिदो मन लिएर अफिस दगुर्यौ। गह्रौ पाइलाले फिल्ड दगुर्यौ। परिवार बढायौं। दुइ छाक टार्नकै लागि त तिमीले आफ्नै मनमौजी गर्थ्यौ होला, तर तिमी त खुसीको लागि कुदिरहेछौ, तृप्तीको लालासामा खटिरहेछौ। 

आखिर किन ? किन 'मोनोटोनस' बनायौं, दिनचर्या खल्लो पार्यौ? सधै एउटै सोच्यौं, एकै बाटो कुद्यौ। एउटै नजरले हेर्यौ, एउटै मापदण्डमा माप्यौं।

अरुलाई देख्यौं, अनि आफुलाई हेर्यौं। 

उसको जीवन हेर्यौ। उनको कमाइ आक्यौं। अनि उसको पाखण्ड नाप्यौ।

अनि कपी पेस्ट। उसकै जस्तो जीवन चाहियो, उसकै जस्तो मान सम्मान, उसकै बुढो, उसकै बुढी ताक्यौ। पाउँदै गयौ, भोग्दै गयौ। 

घरिघरि तुलना गर्यौं, दाँज्यौं, अनि खुसीले फुरुङ्ग पर्यौ। किनकी उसका भन्दा तिम्रा छाला चिल्ला, तिम्रा घर अग्ला, तिम्रो मान शान कति कति। 

तर कहिले सम्म ? 

अर्को 'स्याम्पल' भेटियो।  तिम्रो मान शानको अस्तित्व रहेन। उ कता कता माथी, तिमी त गरिब अनि पाजी। अनि फेरी उही 'मुड' उही 'डिप्रेसन'।  तिमी भन्दा उ माथी !

तिम्रो खुसी तिम्रो शान्ति, कहिल्यै 'तिम्रो' भएन। 

तिम्रो कानले अरुकै सुन्यो, तिम्रो आँखाले अरुकै देख्यो। न तिमीले आफुलाई सुन्यौं, न कहिल्यै आफुलाई हेर्यौ। 

रातभरी सुतिदियौं। दिनभरी डुलिदियौं। संसार तिम्रा लागि बोझ बनिदियो, तिमी संसारको लागि बोझ बनिदियौं। हुनत तिमीले आफ्नै लागि गर्यौं, खुसीकै लागि मर्यौ।

खै त, यत्रो मेहेनतको प्रतिफल ? खै कहाँ छन् तिम्रा आँखामा चकम, तिम्रो अनुहारमा शान्ति। खै तिम्रा हिडाइमा सन्तुष्टी। खोइ तिम्रा खप्परमा प्रगति ?

१० वर्ष फाल्यौं, २० वर्ष फाल्यौ, आधा जिन्दगी फाल्यौ। अब बाँकी पनि यसरी नै फाल्छौ। 

योजना त तिमीले नबनाएको होइन। सपना त तिमीले नदेखेको होइन। अब पनि योजना बनाउनेछौ, सपना देख्नेछौ। 

अब पनि तिमी डुलिरहनेछौ, भौतारिहनेछौ, करिअरका लागि। अनि बाँच्नका लागि, साँच्नका लागि।

फेरी पनि तिमी बहाना बनाउनेछौ, चाहना नै राख्नेछौ। किनकी देखिएकै  छैन, भेटिएकै छैन, अनुभवै छैन। के हो सुख, के हो सन्तुष्टी? के हो तृप्ती? कहिल्यै चाखिएकै छैन।

खै किन हो ? के-का लागि हो ? तिमी संगाल्ने मात्र गर्छौ। शरिर संगाल्यौं, बुद्धी संगाल्यौ। अब धन, मान, इज्जत, प्रतिष्ठा।
खै तिमीले सोचेको ? खै तिमीले बुझेको ? शरिर बनाएर सुख आउने भए हात्ती सबैभन्दा सुखी हुन्थ्यो होला, धन मान इज्जत बढाएर  सन्तुष्टी पाइने भए तिम्रा राजामहाराजा, मन्त्री प्रधानमन्त्री सबैभन्दा तृप्त देखिन्थे होला। 

खै तिमीले देखेको ? तिमी जन्मियौ, अनि तिम्रो मृत्यु आउँछ, सायद आजभोली। 

यो ठूलो ससारमा केही क्षणको अस्तित्व तिमीले फ्याक्ने भयौ, तुहाउने भयौ। 

मरिलानु के छ र भन्छौ ? तर कहिल्यै केही दिदैनौ। यो कस्तो मानसिकता बोकेर बस्यौ! 

लौन तिमीलाई के भयो यस्तो ? सहजै पाइने सुखको लागि तिमी डाँडाकाँडा हाम्फाल्दैछौ, काँडैकाँडैले कोतर्यो। छिया छिया बनाउँदैछौ। तिमी भट्किरहने भयौ, तड्पिरहने भयौ। आशै आशमा भित्र भित्र जलिरहने भयौ।

के गरौं म तिम्रो लागि ? पर्ख, तिम्रोलागि म केही सक्दिन, किनकी तिमी भित्रै छ, तिमी आफैले सक्छौ, केवल तिमीले मात्र सक्छौ।

बिडम्बना यही तिमीले बुझिदिएनौ ।दौडिरह्यौ, घोटिरह्यौ, पेलिरह्यौ, छटपटाइरह्यौ, फटफटाइरह्यौ, भटभटाइरह्यो। तिमी फन्फनियौ, भन्भनियौ, रन्थनियौं। दृष्टी उतै मात्र, यता कहिल्यै फर्काएनौं।

तिम्रो सास्वत बाटोमा केवल सपना र कल्पना हावी भए। योजना र आदर्श मुख्य बने। किनकी तिमीले आफुलाई देखेनौ। अरुकै पछि लाग्यौ, देखासिकी गर्यौ, पाखण्डी बन्यौ। 

तिमीले आफ्नो जन्म देखेनौ। अब मृत्यु पनि देख्ने छैनौ। जीवनका यी दुइ ठूला घटना तिम्रो अनुभुतिमा आउने भएन। तिम्रो जीवन बित्नेछ सकिनेछ, तर जे सिक्न आयौ, त्यो गर्ने भएनौ।

सुन, बिसौं हजार बर्ष पहिले जन्मेको भए तिमी जंगलमा हुनेथियौ। घाम, पानी र जंगली जीवसंग बच्न अनेकन जुक्ति निकाल्ने थियौ। तापनी अन्तमा तिमी मर्ने थियौ। 

हजारौं वर्ष पहिले जन्मेको भए जंगलमा हुने थिएनौ। घरबार भित्र बालबच्चा र जहानको ख्याल गर्न लड्ने जुध्ने थियौ। उस्तै परे, युद्ध र झगडामा भुल्ने थियौ। मृत्युदण्ड र फाँसीमा पर्ने थियौं। शान्तिले बसेपनि आखिर तिमी मर्ने नै थियौ।

सयौं वर्ष पहिले जन्मेको भए तिमी खुसी खुसी बाँच्ने थियौ। खेतबारीमा हलो जोत्नेथियौ, दुइ छाक खाइ आखिर मर्ने नै थियौ। 

आज जन्मिएका छौ। औधोगिक र प्राविधिक सुविधा पाएका छौ। कसरी हुन्छ बालबच्चा पालेका छौ। 

तर बिडम्बना सधै झै तिमीलाई आफ्नो शक्तिमा गर्व छ, बुद्धीमा घमन्ड छ। हेर, राम्रो संग मनन गर, तिमी जस्तै कति आए, असंङ्ख्य सखाप भए। तिमी पनि यहि माटोमा मिल्नेछौ।

तर किन बुझ्दैनौ? समय र परिस्थिति परिवर्तन हुन्छ, कालखण्ड, सभ्यता बदलिदै छ, तिम्रा सुविधाहरु तलामाथी भइरहन्छ, कहिले जंगल, कहिले समाज। कहिले वन, कहिले अफिस त कहिले घर। कहिले मुद्रा, कहिले सिक्का, कहिले काजग त कहिले प्लास्टिकका पैसा। खै तिमीले बुझेको, यी कुरामा छैन शान्ति, छैन सन्तुष्टी। जीवन चलाउन तिमीले नै निकालेका जुक्तिहरु हुन। साटफेर गर्न। किनबेच गर्न। तिमी यसैमा सुख खोज्दैछौ, सन्तुष्टी देख्दैछौ ? पागल भयौ क्या तिमी ?

प्रत्येक छाक टार्न दौडधुप हुन्थ्यो। अहिले तिमी बजार छिर्छौ, पैसा बोकेर साँटफेर गर्छौ। केही सय वर्ष बाँच, तिमीले केही बोक्नु पर्दैन। तिम्रो अनुहारले काम गर्छ, ब्याङ्क ब्यालेन्स थाहा हुन्छ। तर पनि तिमी सुखी हुँदैनौ। सारा सम्पति धनमान प्रतिष्ठा पाएपनि तिमी ढुक्क हुँदैनौ।

काँचो कन्दमुल खान्थ्यौ, अहिले तिमी बियर र रममा झुल्छौ। दुइ छाकको समस्या छैन अहिले, जसोतसो टार्न सक्छौ, थौरै बुद्धी लगाए त सजिलै सक्छौ। 

तर होइन, दुइ छाक टारेर हुन्न, थुपार्नै पर्छ, संगाल्नै पर्छ। किनकी तिमीलाई मर्नु छैन। अमर हौ तिमी । फुस्क्यौ क्या तिमी ?


चिन्छौ तिम्रा जिजुबालाई ? कसैले चिन्ने छैनन् तिमीलाई पनि। तिम्रो अस्तित्व रहनेछैन। तर उद्धेश्य के त? किन जन्मियौ? मर्नु नै छ भने ? जोडजाड गरेर सुख आउने भए किन आएन अहिलेसम्म? आएन तर किन जोडिरह्यौ झनै ? यो कस्तो पागलपन हो ? आखिर तिम्रो समस्या के हो ? 

किन एउटै बाटो हिडिरहन्छौ, थाहा हुँदा हुँदै, देख्दा देख्दै, भोग्दा भोग्दै? तिम्रो वास्तविक क्षमता के हो? किन अस्तित्वमा छौ ? अनि किन मृत्युको मिति लिएर जन्मिएका छौ ? जन्म त देखेनौ, कमसेकम तिम्रो जीवनको दोस्रो ठूलो घटना, मृत्युको लागि तयार त भउ! आखिर कहाँ छ तिम्रो सफलताको सुत्र ? आखिर केले अल्झायो तिमीलाई आफ्नै अस्तित्व बुझ्न ? 

के को लागि आएका हौ तिमी ? कहिलेसम्म हुने छौ तिमी ? अनि कहाँ छ सन्तुष्टी ? के मा छ तृप्ती ? 

को हौ तिमी ? के हौ तिमी ? किन हौ तिमी ?

म भन्न सक्छु, तर तिमी बुझ्न सक्दैनौ। किनकी म बुझाउन सक्दिन, देखाउन सक्दिन। किनकी तिमी तिमी हौ, म म हुँ । किनकी कुरा आदर्शको होइन, अनुभवको हुँदैछ। आदर्श र सपना धेरै पाल्यौ। अनुभवको कमी सधै रह्यो।

त्यसैले समय नफाल, अनुभवको बाटो समात, नत्र छुट्नेछ जीवन, गुम्नेछ अवसर । थाहै नपाइ मर्ने छौ, न आफुलाई बुझ्नेछौ, न खुस शान्ति र सन्तुष्टी नै भोग्नेछौ। केवल दौडधुप र भागदौडमा लाग्नेछौ। अनि मर्ने बेला पछुतो गर्नेछौ। जुन चेतना लिएर आएका थियौ, झनै घटाएर जानेछौ। रुदै रुदै जन्मियौ, रुदै रुदै मर्नेछौ।

No comments:

Post a Comment