सेक्सी फुटबल

नेपाली फुटबल र क्रिकेट भनेपछि भुतुक्कै हुन्छन्। यो लेखिरहँदा रुसमा विश्वकप चल्दैछ, विश्वभरी यसैको रौनक छ, नेपाल पनि यसबाट अछुतो छैन। खान-पान छोडी, अफिस र कलेज छोडी जागराम बसेरै भएपनि विश्वकप हेर्नैपर्छ। 

फुटबल नर्हेने पनि मान्छे हो यार!

खालसी ड्राइभर देखि डाक्टर इन्जिनीयर सबै एकजुट छन्। बाटो-घाटो, कुलो-पँधेरो, स्कुल-कलेज, अफिसका कुर्सी देखि चर्पीका कम्बोडसम्म फुटबल छाएको छ। रातभरी होलल्ला गरी सुत्न दिदैनन्, बजियाहरु!


गाउँ पुगेपछि केटाकेटी जम्मा पारेर स्कुलको ग्राउण्डमा फुटबल नखेल्या होइन। रात  झमम्क परेपछि फर्कने हो थाकेर। आँखा रातो पारेर अर्काको खेल हेर्नै पर्ने कम्पल्सन भने मेरो छैन। ठूला टिमको म्याच नहेरी सुते पनि बिहान जिउँदै उठेकै हुन्छु।

कहिलेकाँही कति गोल हाने, चासो हुन्छ। तर सोध्न पर्दैन, हिड्दै गर्दा बाटोमा गफ चुटिरहेकाहरुले नै भनिदिन्छन्। कान थुनेर हिड्ने गर्दिन्, इअरफोनको डल्लो कोचेर २४ सै घण्टा म्युजिकको सहारा चाहिने तड्पिएको आत्मा पनि होइन। सुन्न करै लाग्छ,  नत्र युट्युबमा हाइलाइट अपलोड भएका हुन्छन्, हेरेर वाफ रे! भनि कराउन सजिलै पाइन्छ। त्यो पनि शरिर नथाकइ, नगलाइ, काम-धन्दा नछोडेरै।

तलाई के थाहा लाइभ खेल हर्दाको मज्जा ! 

हो हो, मज्जा हुन्छ। पोस्टमा पुगेको बललाई फ्याट्ट पड्काएको हेर्दै जुरुक्कै उठेर च्याँठ्ठिदै गोल! कराउनुको मज्जा बेग्लै छ। आखिर कुरा रमाइलो कै हो। स्याटिस्फ्याक्सन चाहिएको न हो। 

मान्छे बढो बाठो छ। यहि फिलिङको लागि संगित रच्यो, खेल खेलायो, अनेकन परिकार पकाउन सिक्यो, अनेकौ ग्याजेट बनायो, लाखौँ लाख उपाय जुरायो। संसार क्या विलासी भएको छ। ओछ्यानमै सुतेर फुटबल हेर्न पाउँदा किन नहर्ने !

हेर्ने नि ! यहि त हो बेला, फुटबल हेर्ने, क्रिकेट हेर्ने। बाँचुन्जेल हेर्ने हो। मरेपछि यस्ता गोला चिज आफन्तिले चढाएका पिण्डमा मात्र देख्न पाइन्छ। 

संसार गोलो छ। सूर्य पृथ्वी गोलै छन्। खप्पर गोलै छ। दुइ खोपिल्डा करिब करिब गोलै छन्। आँखाका नानी ठ्याक्कै गोलो छ। त्यसैले गोलो चिज खुबै प्यारो हुन्छ। मुख रसाउने गोला चिजका धेरै उदाहरण छन्। गोलो वस्तुले सहजता जनाउँछ। चारपाटे भन्दा गोलो वस्तु हेर्दा मस्तिष्कले आराम पाउँछ। यो मनोवैज्ञानिक सन्तुष्टीको कारण फुटबल र क्रिकेटको क्रेज यति धेरै छ। फुटबल गोलो छ, क्रिकेटबल गोलो छ, गल्फ बल गोलो छ, सुन्दा अलिक भल्गर लाग्ला तर पुरुषका टेस्टिकल्स र महिलाका ब्रेस्ट पनि गोलै हुन्छन्। भकुन्डो ! भक्कु र अन्डो।

बल गोलो भएकाले 'थोडी' फुटबल हेरिएको हो र ? आफ्ना-आफ्ना टिम, मनपर्ने खेलाडीको क्रेजले पो हो। नहेर्दा पछि परिन्छ, एउटा त मज्जा गुम्छ, अर्को साथीभाइ भेट्दा के भन्ने ? विश्वकप हुँदा पनि फुटबल नहेर्ने दुखी आत्मा!

के जवाफ दिने ? जीवन जिउन सजिलो पो बनाउँछ, त्यसैले त काम-साम छोड भाइ, फुटबल हेर्न दे, बढी ल्याङ् ल्याङ्ग नगर।

बरु तँ नहेर न। मलाइ मन पर्छ, हेर्छु। मनपर्दैन, तँ नहेर। कसले कर गर्या छ र ?

सहि कुरा।

तर मन पर्दैन कसले भन्दा छ र? फुटबल खेल्न पाए त नखेल्ने हुँ र? 

यो कुरा त पोर्न हेर्या जस्तो भएन र भन्या ? सेक्स गर्न नपाएपछि अश्लिल भिडियो हेरेर सन्तुष्ट हुन खोज्ने ? अझ खेल सकिएपछिका विश्लेषण कस्ता, कसले कति पटक छिरायो, कहाँबाट अनि कसरी छिरायो ?

हरे राम !

भलै यो खेल अचेतन मस्तिष्क भित्र भइरहको छ। तर कहाँको पुरुषत्व हो  यो? अर्कोको मेहेनतमै रोमाञ्चित हुने ? त्यसैमा विवाद निकाल्ने अनि मेरो टिम र तेरो टिम भन्ने ? रातभर नसुत्ने, बिहानभर ढलिदिने अनि दिनभर सुनाइरहने, बकिरहेन, तुलना गर्ने अनि उचाल्ने होच्याउने !

थुक्क, जिन्दगी !

एकथरी खेल्छन्, चर्चा र इज्जत बटुल्छन्। अर्काथरी हेर्छन्, स्वास्थ्य र समय गुमाउँछन्। प्रत्येक खेल पश्चात आफ्ना विद्वता पेस गर्छन्, यसो गर्नुपर्थो, उस्तो गर्नुपर्थ्यो ! यसरी दौडनुपर्थ्यो, यताबाट छिराउनुपर्थ्यो!

हिजोसम्म गुणगान गाइरहेको खेलाडी, आज एक गोल छिराएन, सुरु भयो गालीको नालीबेली। भोली छिराउँछ, सुरु हुन्छ बर्णन।

हो, यही हो आइमाइ प्रवृति। 

बिडम्बना, प्रकृतिले कस्तो दिएथ्यो चेतना!

...

अर्को ब्लग : आइमाइ र नामर्द

No comments:

Post a Comment