प्रतिबन्ध

आवाज उठाउन पाइने, विरोध गर्न पाइने नागरिक अधिकार दमन गर्दै निषेधित क्षेत्र घोषणा गर्ने सरकार लोकतान्त्रिक होइन डरछेरुवा सरकार हो।


उद्योग खोल्छु भनी विदेश पठाउने मापदण्ड बनाउन व्यस्त सरकार, पिच गर्छु भनी हिलो बाटोमा धान रोपेको टुलुटुलु हेर्ने सरकार, पानीजहाज ल्याउँछु भनी पुल बनाउन समेत नसक्ने सरकार, रेल ल्याउँछु भनी रिङरोडमा जाम पार्ने सरकार। हो, यस्तो सरकार डराउँछ, अनि बोल्न प्रतिबन्ध लगाउँछ।




स्वतन्त्रताका ठूला गफ पेल्ने, लोकतन्त्रको धाक लगाउने, राष्ट्रियताको शान बढाउने सरकार। विरोध गर्न प्रतिबन्ध लगाउँछ, किनकी पक्षमा बोल्न पुग्दैपुग्दैन। कुरा त केवल विरोध गर्नै पर्ने मात्र छन् । त्यसैले सरकार काम्छँ । कहीँ कसैले जुलुस ननिकालोस्, निकाले लौरा र पानीका फोहोरा हान्छ, अनि आफुलाई बढो विकासवादी ठान्छ। हो, गफाडी सरकार डराउँछ, जनताको मुखमा पट्टी लगाउँछ।


विदेश घुमेर नेताले सिकेनन् भन्थें । भारतमा जहाँतहाँ विरोध गर्न पाइन्न रे । भारत भ्रमणमा जाँदा राम्रै ज्ञान लिएर फर्कनुभएछ, कहाँ कहाँ विरोध गर्न पाइन्छ, जानेर आउनुभएछ। वाह! तपाईको विद्वता ! म त सोच्दै थिए, अब देशमा छलफल हुन्छ, चहलपहल हुन्छ, वाद-विवाद हुन्छ, विचार-विमर्श हुन्छ। अहँ, उल्टो भयो। डरछेरुवा सरकार त मुटु रोगी निस्कियो। अब यो सरकारलाई घण्ट बजाउँनु पर्छ। धुप नैबेत तयार गरी तीन फन्को मारेर शाष्टाङ्ग दण्डवत् गर्नुपर्छ। हो, रोगी सरकार डराउँछ, आफ्नो प्रसंसा मात्र मन पराउँछ।


माइतिघरमा प्रदर्शन गर्दा जाम हुन्छ रे !  नाङढुगा, कोटेश्वर, कालिमाटी र कलंकीमा कसले विरोध गरेर जाम भएको हो ? कसले जुलुस निकाल्छ घण्टै पिच्छे, कति छन् नारै मात्र लगाउने बेरोजगार! लौन यसबारेमा भनीदिनुपर्यो, असङ्ख्य ज्ञान भएका सरकारका मन्त्रीमहागणहरुले। नत्र जनतालाई कसले शिक्षित गर्ने, चेतना कसरी फैलाउने ? अहँ होइन, चेतना फैलाए चाल पाउँछन्, त्यही नहोस् भनी लगाम लगाउने सरकारलाई काँतर भन्ने कि नभन्ने ? हो, छेरपट सरकार डराउँछ, आफ्ना सबै कर्तुत लुकाउँछ।

शरीरमा ४५ वर्ष देखीमा घाउ र खत  छन् भन्नुभएछ। हो, लड्नुभएछ, जेल नेल खानुभएछ, महान तपाई। हामी चाहीँ के खोया ? लड्नुभयो र त अहिले पुरै उक्लनुभयो। आफु बन्नुभयो, आफ्नालाई बनाउनुभयो। हामीलाई पनि बनाइदिनुहुन्छ कि आशा राखियो, तर हिलैमा गड्यो, धुलामै मिसियो। दुख पाइयो, दुख दिनुभो। किनकी ती पुराना घाउ दुखे होलान्, बदला लिनुभो, पिडा दिनुभो। ती काला खत पोले होलान्, शास्ती दिनुभयो, पछाडीबाट लात हान्नुभयो। हो यस्तो मनस्थितिको सनकी सरकार सन्किरहन्छ, लोकतन्त्रमा बन्देज थपिरहन्छ।





No comments:

Post a Comment