आइमाइ र नामर्द

आइमाइ एक अनौठो घटना हो। आइमाइ एक अद्भूत स्थिति हो जहाँ उसले आफ्नो शरिरका सबै अंगसंग सम्बन्ध विच्छेद गरी केवल घोक्रोसंग साइनो गाँसेको हुन्छ। आइमाइ र उमेर आपसमा सम्बन्धित छैनन। कसैले भन्लान् २५ कटेपछि आइमाइ, ३५ कटेपछि आइमाइ वा विहे गरेपछि आइमाइ। होइन, आइमाइसंग उमेर, वैवाहिक सम्बन्ध र उसको लैङ्गिक चिनारीले कुनै सम्बन्ध राख्दैन। आइमाइ एक गुण हो, जुन पुरुषमा समेत देख्न सकिन्छ।


नेपालीमा एक भनाइ चर्चित छ, आइमाइको रुद्रघण्टी हुँदैन। वास्तविकता त यो हो की, रुद्रघण्टी बिना स्वर निस्कन सक्दैन, शरिरमा यो अपरिहार्य छ। यो भनाइ व्यङ्गात्मक हो। आइमाइको विरोध असम्भव भएकाले एकमात्र कारकर उपाय हो व्यङ्ग । यसो भन्दै गर्दा सर्लक्क घाँटी भएकी तरुणी आइमाइ हुन सक्दिनन् भनेको  चाहिँ होइन।



आइमाइको उत्पत्ति


आइमाइको उत्पत्ति र विकासको लामो इतिहास छैन। बरु यसलाई २१ औँ शताब्दीको उपलब्धी हो भन्दा फरक पर्दैन। जब-जब महिलाहरुको हक-अधिकार बढ्दै गयो, आइमाइपना त्यही अनुसार फस्टाउँदै गयो। यसो भनिरहँदा महिलाको हक र अधिकार माथी प्रश्न उठाएको पटक्कै होइन। अघि नै भनिसके आइमाइ एक गुण हो र लिङ्गसंग यसको कुनै सम्बन्ध छैन। तापनि आइमाइको साइनो महिला जातिसंग अलिक नजिक हुन्छ । जननी भएकी हुँदा राम्रो नराम्रो सबैको स्रोत  महिला नै ठहरिन्छन्। जब महिलाले गति छाड्छिन् उनलाई आइमाइको संज्ञा दिन सकिन्छ। साथै जब-जब पुरुषमा पनि यो विशेष गुण हावी हुन थाल्छ, आइमाइको गन्ध आउन सुरु गर्छ।

आइमाइको गुण


आइमाइ हुन पनि विशेष गुण धारण गरेको हुनुपर्छ। जसमा शारीरिक र मानसिक दुवै खाले क्षमता पर्दछन्। अर्थात मुख चलाउन सिपालु र मगजको उपयोगमा संकट पैदा भएको विशेष अवस्थालाई नै आइमाइ भनिन्छ। चिन्तन मनन शुन्य अवस्थालाई पनि आइमाइको संज्ञा दिन मिल्छ। 

आइमाइको घाँटीमा एक विशेष यन्त्र फिट गरिएको हुन्छ जुन फटफटाइरहन्छ। यो फटफटेपन नै वास्वविक आइमाइ हो। यो फटफटेपनको जीनचक्र हुन्छ। जब आइमाइको कानको जालीमा विशेष आवाजले ठक्कर खान्छ तब मगजको एक कुनामा काउकुती लाग्छ। यो काउकुतीले फटफटेपनको जन्म गराउँछ। फलस्वरुप आइमाइको खुट्टा, हात र शरिरले गति लिन्छ। अनि अर्को आइमाइ खोज्नथाल्छ।

लार्भा अवस्थाको फटफटेपनले अर्को आइमाइको सम्पर्क पाउँनासाथ आफ्नो खोल तोडी वयस्क स्वरुप लिन्छ। आइमाइको घाँटीको रुद्रघण्टी फटफट गर्छ, वक-वक गर्छ, फटफटेपनको फुल फुट्छ।

फटफटेपन सुरुवा रोग हो। एउटा आइमाइको मुखबाट अर्को आइमाइको कानसम्म यो सजिलै सर्छ । कानबाट मगजमा पुग्छ अनि पुन: नयाँ फटफटेपनको फुल निर्माण हुन्छ। यसरी एक मगजबाट अर्को मगजमा पुग्दा फटफटेपनको एक चक्र पुरा हुन्छ र प्रत्येक चक्रसगै यसको आकार वृद्धी हुन्छ।

यसरी वृद्धी भएको फटफटेपनको गति पहिलेको भन्दा तेज हुन्छ। एउटा आइमाइले दोस्रो आइमाइलाई सारेको फटफटेपन तेस्रो आइमाइसंग पुग्दा यतिसम्म वयस्य हुन्छ कि पहिलो आइमाइले समेत चिन्न नसक्ने भइदिन्छ। थुप्रै आइमाइहरु एकैसाथ फटफटेपनको आदानप्रदान गर्छन् भने त्यसको परिणाम आंकलन समेत गर्न सकिदैन । अक्सफोर्ड, हार्भड जस्ता चर्चित युनिभर्सिटीहरुले यसतर्फ अध्ययन गर्न ध्यानाकर्षण गर्न चाहन्छु।


फटफटेपन


बोलीचालीको भाषामा फटफटेपनलाई 'कुरा काटेको', 'कुरा लगाएको', 'आइमाइ प्रवृति' जस्ता थुप्रै अर्थ लगाइन्छ। आइमाइको मगजमा घट्ने यो घटनाको पछाडी थुप्रै कारणहरु छन्। प्रमुख कारण हो, फुर्सद। यो फुर्सदमा उनीहरु मगजमा फटफटेपनको अण्डा पार्छन् र निरन्तर अण्डा कोरल्न अर्को आइमाइको खोजीमा बस्छन्। 

लोभ, अर्को कारण हो।  आइमाइको मगजमा उत्पन्न लोभ सामान्य पुरुष र महिलामा भन्दा भिन्न हुन्छ। लोभ विशेष गरि, घर घडेरी र पैसाको लागि हुन्छ।  लुगाफाटो र अन्नपातको लोभी आइमाइलाई आलाकाँचा आइमाइ भनिन्छ। केही आइमाइले आफ्नो लोभको दायरा बढाएर परिवार, बालबच्चासम्म पुर्याउँछन् र अन्तत: उनीहरु आइमाइपनाबाट मुक्त हुन्छन्। तर तीन चौथाइ भन्दा बढी आइमाइ नुन, तेल र घ्युको लागि चरिफाल गर्छन् अनि फटफटेपनको अण्डा पार्छन्।

धन अर्को प्रमुख कारण हो। धन संगै आइमाइमा घमण्डी प्रवृती आउँछ। आइमाइको न्यून गतिविधिको मजगले  मृत्युपछि पनि धन लैजाने मिल्ने ठान्छ। अनि पति वा पत्नीले कमाएको धनको फुर्ती सुरु हुन्छ। चिरिच्याट्ट सजिएर  सो-अफ गर्ने आइमाइ मलाई सबैभन्दा उत्कृष्ट लाग्छ। यो प्रकारको आइमाइ आफुजस्तै आइमाइको समुह  रुचाउँ। विशेषत: पुरुषमा भन्दा महिलामा यो आइमाइको प्रकार बढी पाइन्छ।

नामर्द


नामर्द मुख्यत: पुरुषमा पाइने गुण हो। एक निश्चित स्थानमा जम्मा भएर समसामयिक पृष्ठभूमीमा गहन छलफल पश्चात घरमा फर्की ओछ्यानमा खुट्टा फालेर उत्तानो पर्ने, पाखुरा मठार्ने तर ढलेको सिन्को नउठाउने, हाँस झै ढल्केर हिड्ने, लुगा फेरिरहने, हातका औला भन्दा बढी औँठी घुसार्ने, टाँटेपाङ्ग्रे कपाल कटाउने, छिर्केविर्के र च्यातिएको गाँसिएको लुगा लगाउने तर बिनामोजा कन्भर्स घुसार्ने पुरुषलाई नामर्द भनिन्छ। अधिकांश पुरुष नामर्दपना बाट गुज्रिएका हुन्छन्, नेपालको सन्दर्भमा भने आधा भन्दा बढी पुरुषहरुमा जीवनभर नै यो प्रवृति देख्न पाइन्छ।

जन्म र प्रकार


जब शरिरमा रासायनिक परिवर्तन सुरु हुन्छ र केटो केटी प्रति आकर्षित हुन्छ थाल्छ, केटोमा नामर्दपनको जन्म हुन्छ।

५ वर्ष पछि लागिसक्दा पनि केटी पट्याउन नसक्नेलाई अल्लारे नामर्द भनिन्छ। यो प्रकारको नामर्दपन अधिकांस पुरुषमा बुढेसकालसम्म पनि देखिन्छ।

विशेषगरी श्रीमती आइमाइ छे भने सो घरमा पुरुष नामर्द हुँदैन। तर यदी श्रीमती आइमाइ र श्रीमान नामर्द छ भने, यस्तो नामर्द सबैभन्दा बलवान हुन्छ । यसप्रकारको नामर्दलाई नेता नामर्द भनिन्छ। आइमाइ आफ्नै गुटमा फटफट गर्छे, नामर्द छुट्टै पार्टी बनाउँछ। श्रीमती वकवकमा सिपालु हुन्छे, श्रीमान चिया र चुरोटमा मस्त गफ चुट्छ। यस्तो परिवारमा खर्चको लागि उल्लेख्य कामकाज आवश्यक पर्दैन।  दैवले जुटाउँछ।

अर्को हुन्छ अल्छि नामर्द । यो पुरुषको विशेषता ओछ्यानमा खुट्टा फट्याएर उत्तानो पर्नु हो। यो पुरुषमा अर्को एक विशेष गुण हुन्छ। आलोचना गर्ने। विशेषत: चिया पसलको गफमा यो सम्मिलित हुन मन पराउँछ। आफ्ना नामर्द साथीहरुको हुलमा यो आफन्त र नेताको उदाहरण दिदैँ आफ्नो नामर्दपनमा गर्व गर्छ। यस्तो नामर्द मर्ने  बेला रुन्छ।

अर्को हुन्छ छाडा नामर्द। यो नामर्दको मुखमा छाडा शब्दावली सधै झुण्डिएको हुन्छ। मग‍जको गतिविधि शून्य हुन्छ। यस्तो नामर्दमा रिस र घमण्ड विशेषता हुन। आफ्नो बल र बुद्धीमा गर्व गर्दछ। यस्तो नामर्द गोरो छालाकै भएपनि कालो देखिन्छ। यस्तो नामर्दको मर्ने बेला काम्छ, डराउँछ।

अर्को हुन्छ भक्त नामर्द। यो नामर्द मन्दिर बढी धाउँछ। यसमा सबैखाले नामर्दको गुण हुन्छ। रिस, घमण्डमा पाकेको हुन्छ। अल्छिको राजा हुन्छ।  छाडा अलि हुँदैनन्। तर उसलाई आफ्नो बुद्धीमा निकै गर्व हुन्छ। सुत्नेकोठामा केही देवी देवताको फोटो टाँसिएका हुन्छन्। पुजाआजा र टिकाटालामा माहिर हुन्छ। सिरानीमूनी यौन कथाको संग्रह भेटिन सक्छ।  यस्तो नामर्दहरुले सामान्यतया आइमाइ श्रीमती पाउँछ।

नामर्दको राजालाई नामर्द प्रमुख भनिन्छ। प्रमुख पार्टीका लिडर तथा देशका मुख्यमन्त्री अनि मन्त्रीहरुमा यसको बाहुल्यता भेटिन्छ। यी नामर्दहरुमा विशेष खुबी हुन्छ, भाषण। जति मिठो भाषण, उति नै नामर्द भन्ने बुझ्नु  पर्छ। यी नामर्दहरु नामर्द जनताको भीडलाई एकत्रित गर्न सक्ने शीप भएका हुन्छन्। गफ चुट्छन् अनि नामर्द जनतालाई अझै नामर्द बन्न सहयोग गर्छन्। यस्तो नामर्दलाई मर्नेबेला गोटा पर्छ।




No comments:

Post a Comment