नेपाल बेच्ने योजना

'अहो, भाइ कता छौ आजभोली ? पढाइ कहाँ पुर्यायौं ?' 
संगै अर्को दाइले सोधे, 'जागिर खाएको छौ कि छैनौ ? के पढेको अरे तिमीले ? अनि के गर्दैछौ आजकाल ?'
काठमाडौंको खाल्डोबाट गाउँ पुगेपछि दाइ-भाइले प्रश्नको ओइरो तेर्साउँछन्।

'अष्ट्रेलिया जाने तयारी गर्दैछौ रे? कहाँ पुग्यो प्रोसेस ?', पुर्खेने थलो उतै भएझै जिज्ञासा राख्छन्।

'अँ, जाने भनेको त्यस्तै भइर'छ, हेर्नुन', 
'खै जाने त भनेको हो? के हुन्छ हेरौं',
व्यक्तिपिच्छे जवाफ फर्किन्छ। 

काठमाडौं फर्के, गाउँ पुगे, फेरी काठमाडौँ आए, म फेरिएँ, राजधानी फेरिदैछ, गाउँ फेरियो, तर यी प्रश्नले सधै पछ्याइरह्यो।


प्रश्न फेरी सोधियो। खुसी भएर उत्तर दिए।

'नेपाल बेच्ने योजनामा छु।  किन्ने मान्छे खोज्दैछु दाइ।'


एकछिन ट्वाल्ल हेर्छन्। मजाक नगर्न सुझाएर प्रश्न दोहोर्याउँछन्। 

म पनि बोलीमा कन्फिडेन्स झल्किने गरि उत्तर ठोक्छु, 'सिरियस हो दाइ, एउटाले महंगो भयो भनेर डिल साइन गरेन। मार्केटमा कम्पिटिसन छ आजकाल, सस्तो खोज्छन्, आफुसंग भएको ए-वान माल , कसरी दिने सस्तो मूल्यमा?'

'के भन्छ? जोकको पनि एउटा लिमिट हुन्छ भाइ ?', दायाबाँया दाइ-भाइहरु जम्मा हुन्छन्। 

'भ'कै कुरा त बोल्दै छू। पत्याउने नपत्याउने तपाइको कुरा !'

म सिरियस मुडमा उत्तर दिएर निस्किए, उनीहरु गलल्ल हाँस्छन् । मेरो मनमा साच्चै नेपाल बेच्ने योजनाले जरो गाड्दै छ।

...

म काठमाडौंको खाल्डोमा आइपुगे।

ग्राहकको खोजीमा छु।  मलाई देश एकमुस्ट बेच्नु छ। 


मार्केटमा कम्पिटिसन छ। छुद्र व्यापारीहरुले स-सानो भाग बेचेर सिध्याउने डर छ। तर देश एकमुस्ट बेच्नु छ। 
अल्लारे केटाहरुले देशको मुल्य घटाउलान कि भन्ने मलाई बढो पिर छ। मैले एजेन्टहरु खटाए। परिवार पाल्ने उमेरका युवालाई लखेट्नै पर्ने योजनामा एजेन्टहरुले रातदिन नभनी काम गर्न सुरु गरे । मलाई थाहा छ, अल्लारे केटाहरुलाई केवल दुइ कुराले लोभ्याउन सकिन्छ, अल्लारे केटी अनि पैसा । त्यसैले मैले म्यानपावर अफिस खोले।  पैसाको लोभ देखाएर कतार, दुबइ र मलेसियाको भिसामा छाप ठोक्दै पठाँए। 

तर सबै देश छोड्न तयार भएनन्। देश बेच्ने काम सोचे भन्दा गाह्रो हुने देखियो। 

म हिम्मत हार्ने पक्षमा छैन। नयाँ योजनाहरु बुन्दै गए।
चाँडै नै देश भित्र बाँच्न नसकिने वातावरण बनाउन जरुरी देखियो। लगतै बन्द र हड्ताल गरे, तोडफोड गरे, नारा जुलुस निकाले, जिन्दावाद र मुर्दावादले सहर गुञ्जियो। 

मेरा हजारौं एजेन्टहरु गाउँ-गाउँ, चप्पा चप्पा पुगे। सरकारी अफिसरहरुलाई पैसाको लोभ देखाएँ। भ्रष्टाचारको दलदलमा फसाउँन थाले। मलाई कर्मचारी तन्त्रमा भाँडभैलो मच्चाउनु छ। आखिर पैसाको लोभमा बाउले छोरा र छोराले बाउ बेच्छ अरे, मैले प्रत्येक सरकारी कर्मचारीलाई टारगेट बनाउँदै सुट गर्दै गए।

धनीहरुको पक्षमा बोल्न जरुरी देखे। पैसाले शक्तिमान भएकाहरुलाई विपक्षी बनाउनु बुद्धिमानी हुँदैन। मैले राजनीतिमा उत्रने सोचेर चाप्लुसी घस्ने सिके, व्यक्तित्व बनाउन ट्रेनिङ लिए। जनताको नाममा फेरी सडकमा उत्रिएँ। जेल र नेल खाएँ। पैसाको खोलो बगाएँ। आफ्नैलाई मारे, रगतको खोलो बगाए। कतिलाई गोली ठोके, कतिलाई ठोक्न लगाएँ, कतिलाई दुर्घटनामा मारे।

मलाई देश एकमुस्ट बेच्नु छ, त्यसैले बलिदान आवश्यक छ। बलिदान आखिर आफ्नैको दिइन्छ। त्यसैले त दशैमा आफ्नै घरमा पालेको खसी काट्नेहरुको फुर्ती बढी हुन्छ।

खाडीतिर उड्नेको सङ्ख्या बढेको छ। पढाइमा कमजोरलाई मलेसिया, दुबइ र कतार पठाए पनि पढाइमा तेज अल्लारेहरुले वाधा गर्ने प्रस्ट देखे। देशमा एनजीओ आएनजिओको विगविगी मच्चाउन मैले अनेक योजना बुन्दै गए। वातावरण बिग्रिएको र शिक्षाको स्तर खस्किएको आडमा मैले गाउँ-गाउँमा पोस्टर टाँसे, 'दिशा धोएपछि साबुन पानीले हात धुनु।'

कलेज र स्कुलको फिस बढाउन मिटिङ राखे, धनीहरुको 'गेटटुगेदर' गरे। किताब बेचे, कापी बेचे। अनि इतिहास र भूगोल पढाए। राजाका कथा घोकाएँ, राणाका एकतन्त्र पढाए, अनि लोकतन्त्रको सपना देखाए। 

आज कलेज र स्कुलका ट्रस्टी अनि प्रिन्सिपल मेरा अगलबगलमा घुम्छन्। पढाइ खस्काएर मेरो मन गदगद भएको छ। पढाइको स्तर खस्केसंगै दक्ष अनुभवीहरुको कमी हुँदै गयो। मेरा एजेन्टहरुले कलकारखाना बेचे, खोला बेचे, जमिन बेचे। एकमुस्ट देश बेच्ने अझै पुरा भएन।

राम्रो जागिर नपाएपछि मेरो कन्सलट्यान्सि आउने  टाठाबाठाको सङ्ख्या बढ्दा मेरो नाक ठूलो भयो। उनीहरुलाई अष्ट्रेलिया, अमेरिका, जापान र कोरिया जान सल्लाह दिएँ।

आज म अंग्रेजी, जापानी र कोरियन भाषा सिकाउन व्यस्त छु। मसंग असङ्ख्य पैसा जम्मा भयो। मेरो उद्धेश्य पैसा होइन, मेरो सपना  एकमुस्ट देश बच्नु हो।

...

टुडिखेलमा मेरो भाषण सुन्न असङ्ख्य जनताहरु ओइरिएका छन्। 

तपाईहरुकै लागि म राजनीतिमा उत्रेको हुँ। म देशमा विकासको लहर ल्याउँछू। छिमेकी देशहरुसंग व्यापार बढाउँछु। काठमाडौंमा खानेपानीको नदी बगाउँछु। बाटोघाटो चिल्लो बनाउँछु। देश समृद्ध बनाउनु छ। देश विकास गर्न तपाइहरुको सहयोग चाहन्छु।

तालीको ओइरो पाउँछु। भेँडा जनता जे भनेपनि पत्याउँछन्। 

कुर्सीको लागि म पार्टी बनाउँछु, अनि फुटाउँछू, अनि फेरी जोड्छु। जोड्ने र फोड्ने काममा म अभ्यस्त छु। बाचा कसम खान्छू अनि चुनाव गराउँछू। चुनावमा जितेपछि कुर्सीको दाउमा म त्यस्ता बाचा कसम बागमतीमा बगाउँछु। कुनै नाथे जनताको लागि मन्त्रालय सम्हाल्न सक्दिन। किनकी मलाई देश एकमुस्ट बेच्नु छ।

म सपनाको डायरी पल्टाउँछू। अनि दैनिक ठूला सपनाको टनिक खुवाएर जनता सुताउँछु। भेडा जनता, जे भने पनि पत्याउँछन्। चुनावमा भोट हाल्न पाएका छन्,  मख्ख छन् जनता। 

उदेकलाग्दो मन लिएर बसेका छन् जनता । लोकतन्त्रको नाममा म उनीहरुको रगत चुस्छु। लम्पसार सुतेका मेरा जनतालाई हर्छु, अहँ पटक्कै चेतना छैन। जागरुकता छैन। दया लाग्छ। माया लाग्छ। आफ्नो सपना लत्याइदिउँ जस्तो लाग्छ। तर अँह। म उनीहरुजस्तै कमजोर हुन सक्दिन। ठूलो सपना साकार पार्नु छ। आखिर देश एकमुस्ट बेच्नु जो छ।

देशमा केही टाठाबाठाहरुले मलाई औला उठाउन सुरु गरे। बढो गाह्रो हुन थाल्यो। म तनावमा आउन थाले। तर मन्त्रालय सम्हाल्नु छ, जनतालाई मुस्काएको चेहेरा देखाउनु छ, भेँडाको हुलमा भेँडाकै खाल ओडेर जानु पर्ने बाध्यताले झनै गाह्रो हुने रहेछ। 

मैले सुरक्षा निकायलाई आफ्नो वसमा पारे। लोभ र लालच देखाएर नेपाली किन्न निकै सजिलो छ। पद र पैसाको अगाडी सबै झुक्छन्। 

अब मलाई अलिक सजिलो भएको छ। मनपरी गर्दा औला उठाउनेहरुको सङ्ख्या घट्दै गएको छ। त्यसपछि मैले अदालत कब्जा गरे। अहँ, मलाई अब कसैको डर छैन।

म खुलेआम सुन तस्करी गर्छु। म म्याजिर ब्युरो सञ्चालन गर्छु । म विदेशी लगानी कप्ल्याक्क खान्छु, अनि चेलिबेटी बेच्छु। म तेल बेच्छु, म बजेट पचाउँछु। म आश्वासन दिन्छु, अनि पछाडीबाट लात हान्छु। म स्वास्नी कुट्छु । म रक्सी पिउँछु, अनि छोइला लुछ्छु। अरुको मासु खाने मलाई भोक छ। चाहे त्यो भैसीको होस् या जनताको। किनकी म हत्यारा हुँ, किनकी मेरा जनताहरु हत्यारा छन्। जनता खसी, बोका र भैसी मार्छन्, म जनता मार्छु। हामी एक अर्काको परिपुरक हौ। हामी एकअर्काको देखासिकी गर्छौ।

म मान्छेको छाला ओडेको पशु हुँ। अनि मान्छेको छाला ओडेको भेँडाहरुको प्रतिनिधित्व गर्दैछु। मेरा चर्का भाषणमा भेँडाहरु एकजुट हुन्छन्। म दुइ मुठा घाँस हालिदिन्छु, उनीहरु फुरुङ्ग पर्छन्, मेरो पार्टीको नाममा मर्छन, मार्छन। 

मैले काठमाडौंमा आलिसान महल ठड्याइसके। काठमाडौं र चितवनको मंहंगा प्लटहरु आफ्नो वसमा पारिसके। करोडौं करोडको सेयर हालिसके। सडक पेटिमा माग्न बसेको बुढालाई दैनिक १० रुपैया चढाएर म मन्त्रालय धाउँछु। पैसावालको कुरामा सहमत हुन्छु, अन्यको कुरा त सुन्छु, तर मासु भात र ह्विस्कीसंगै पिइदिन्छु।

आजभोली देशमा गरिखाने युवा छैनन्। जो छन् अमेरिका, अष्ट्रेलियामा फुर्ती जमाउँदैछन्। कोही रेस्टुरेन्टमा रक्सी पस्किन्छन्, कोही गाडीमा तेल हाल्छन् कोही प्लेट मस्काउँछन्। अनि फेसबुकमा मुस्काएको फोटो पोस्ट गर्छन्, परिवारसंग भिडियो च्याट गर्छन्। बाँकी जापान र कोरियामा भारी बोक्दैछन्। अनि साह्रै गरिबहरु कतार र मलेसियाको घाममा कालो हुँदैछन्। रगडिदै छन्। फेरि मलाई दया आउँछ। सपना त्यागौँ झै लाग्छ। तर चुनावमा मेरो पैसामा मासु भात र रक्सी खाएर मलाई जिताउन खटिएका यी मूर्खको मूर्खता देख्दा त्यसै छोड्न मन लाग्दैन। म चुस्छु, एक थोपा छोड्दिन, हड्डी बाँकी नभएसम्म म चुसिरहन्छु। किनकी मेरो ठूलो सपना छ, एकमुस्ट देश बेच्ने।

एसीको शितलतामा कालो सिसा भित्र लचकदार सिटमा बसेर साइरन बजाउँदै मेरो सवारी काठमाडौंको सडकमा हुँइकिन्छ। म झ्यालबाट हेर्छु, मेरा भेँडाहरु मेरो सवारीमा मख्ख छन्। मन्त्रीजी आउनु भएछ। म यहाँ मोजको जीवन जिउँदै छु।

समाचारमा सुन्छु, काठमाडौँको धुलो, धुवाँ र जाममा जनता पिल्सिए। कालो सिसाबाट म कतै त्यस्तो देख्दिन। मेरो सवारीमा बाटोको जाम खुलेछ। म खुसीले फुल्छु, मेरो सरकार, मेरो राज, मेरो सडक, मेरो देश अब पर्फेक्ट भएको छ, फुलेको छ, फलेको छ। किनकी यहाँ ती अल्लारे केटाहरु छैनन्। नावालक र बुढाहरुको देशको म मन्त्री भएको छु, प्रधानमन्त्री भएको छु, राष्ट्रपति भएको छु। मेरो जीवन सार्थक भएको छ। मेरा जनताहरु मेहेनति छन् अनि साह्रै सोझा छन्। म मेरा जनता र मरेको लाशमा भिन्नता देख्दिन, त्यसैले मलाई सजिलो छ। मेरो कम्पिटिसनमा कोही छैन, मेरो प्रतिस्पर्धीहरु छैनन्। म आशावादी छु, मैले राम्रो गाह्रक पाउने छु, देश एकमुस्ट बेच्नु छ।

No comments:

Post a Comment