समृद्धी

माओवादी छोडी नयाँ शक्ति गठनपछि बाबुराम भट्टराइले 'आर्थिक समृद्धी'को चर्चा सुरु गरे। त्यसपछि नेकपाका 'राष्ट्रवादी' अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी ओलीले यो शब्दको उपयोग गरी आफ्नो छवी उचाले। जंगलबाट फर्केर एकाएक समृद्ध बनेका नेकपाका अर्का अध्यक्ष प्रचण्डका भाषणमा 'आर्थिक समृद्धी' सुनिन थाल्यो। अध्यक्षको कुर्सीमा टाँसिएका 'सुपरिम' कांग्रेसी शेरबहादुर देउवाको जिब्रोमा पनि यो शब्दले प्रवेश पायो। सरकारका मन्त्री देखि राजनीतिक विश्लेशकको विश्लेशणमा अहिले यो शब्दको खुवै 'भ्यालु' छ।



मेरा केही प्रश्न छन्, समृद्धी भन्या चाहीँ के हो? समृद्धीको बाटो छ कहाँ? कहाँ छ यो समृद्धीको ढोका ? समृद्धी आउँछ रे ! अहिले कहाँ आइपुग्यो ? अनि कहिले सम्म आइपुग्छ ? एक्लै आउँदै छ कि कोही लिन गएका छन्? ओलीको पानीजहाज र रेल चढेर आउने हो की रकेट कै व्यवस्था गरिएको छ ? कत्रो छ यो समृद्धी ? गोलो छ कि चेप्टो ? कस्तो रंगको छ, गन्ध कस्तो छ ? कुनै मन्त्रालय खडा गरी मन्त्रीलाई जिम्मेवारी सुम्पन पर्ने हो कि, आगमनको रेकर्ड राख्न। के थाहा, आएर फर्कि पो सक्यो कि?


सकारात्मक सोच्छु तर म आशावादी व्यक्ति होइन। ओली, प्रचण्ड, र देउवालगायत सफल नेताहरुको मुखारविन्दुबाट निस्किएको एक शब्द पनि म विश्वास गर्दिन। आवश्यक नै छैन। गर्नेले गरेर देखाउँछन्, वक-वक गर्दैनन्।  'आशा' चाहिदैन, जब परिणाम आउँछ, वास्तविकतामै भोग्न पाइन्छ।

नेताका शब्द, भाषणले केही दु:खी आत्माहरुलाई 'मोटिभेट' गर्ला। भुस्तिग्रे र नार्मदकोहरु समुहले नेता बढो प्यारो ठान्छ। भोट हाल्यो सांसद बनाइदियो, गाउँसहरमा हल्लिएर फलानो नेता मेरो, तेरो नेताको ताकत छैन भन्ने यहि समुह हो। मोदी र ट्रम्पको विरोधमा फेसबुक र ट्वीटरमा राजनीति छाँट्ने यिनै हुन। लुडो र क्यारिम खेलमा मस्त हुने यीनै हुन। म्यारिज र कलब्रेकमा भुल्ने यिनै हुन। चुरोट र वियरमा झुल्ने यिनै हुन।  बसपार्कको रोडसाइडका रमिते र रत्नपार्कका बरण्डेहरु छन् यहाँ। यस्ता 'समृद्ध राष्ट्रवादी'हरुले देश भरिएको छ। अनि तिमी प्रश्न गर्छौ, देश किन बनेन?

कतार, मलेसिया र दुबइ पो बन्दैछ। आजभोली जापान, कोरिया र अष्ट्रेलिया पनि बनाउँदै छन् यीनै 'राष्ट्रवादी'हरुले। बाँकी यहाँ करिअर बनाउँदै छन्, देश बनाउने फुसर्द कसलाई छ र ? पढेर जागिर खाने ट्रेन्ड बढो समृद्ध छ। पढेको किन? सर्टिफिकेट लिन? सर्टिफिकेट किन ? जागिर खान। जागिर किन ? धन कमाउन ।धन किन ? परिवार पाल्न, खान, घुम्न, डुल्न, मोज गर्न। यी सबै किन? जीवन सफल पार्न । सु:खले बाँच्न । यतिको लगाव, मेहेनत गर्दा गर्दै, जोतिदाँ जोतिदै यी आत्माहरुको अनुहारमा सुखचाही कहाँ छ खोइ ? 

परिवारमा कलह छ, दाइले भाइको इख गर्छ, भाइ दाइको इख गर्छ।  यी दुइलाई विवाह गरिदेउ, त्यो घरमा मान्छे नै बसेका हुन विश्वास गर्न मुश्लिक पर्छ। एउटा छिमेकी र अर्को छिमेकीसंग झस्किन्छ, एउटा कर्मचारी अर्को कर्मचारीको खुट्टो तान्छ। एउटा व्यावसायी अर्को व्यावसायीको क्षेत्र हडप्छ। डाक्टर क्लिनिक खोल्छ, इन्जिनियर कन्सल्ट्यान्सी। यहाँसम्म कि एउटा पुजारी देवताहरुलाइ समेत भेदभाव गर्छ, मेरो र तेरो भन्छ।

तिमी र तिम्रो आफन्तमा एउटै कुराको कमी छ, सहि चिन्तन। भ्रमबाट निस्क पहिले, तिमी यो देशको होनाहार जनता हुँदै होइनौ। यो देशको जनता बन्ने तिमीसम्म न्युनतम क्वालिफिकेसन छैन। म तिमीलाई यो देशको जनता मान्न समेत इन्कार गर्छु। विडम्बना, तिमीलाई मानव समेत मान्न सक्दिन। तिमीलाई आफ्नै चिन्ता छैन, आफुलाइ सम्हाल्ने हुती छैन, एक दुर्घटना बनेको छौ, तिम्रा हरेक काम तिमी विरुद्धै वज्रिने गर्छन्। नियन्त्रण छैन, तिमी असन्तुलित छौ। भट्किएको आत्मा हौ तिमी। दुर्भाग्य, तिमीजस्ताले यो देश भरिएको छ। अनि तिमी प्रश्न गर्छौ, देश किन बनेन ?

ए राष्ट्रवादी, तिम्रो जीवन बढो रोचकको छ। ओली र बाबुरामका ट्वीटमा बढो व्यङ्ग हान्छौ, फेसबुके ड्रग्स पिउँछौ, लाइक कमेन्ट र म्यासेजमै भुलिदिन्छौ। तिम्रा खेतबारीमा कमिला डुलेका छन्। तिम्रा फुलबारीमा किरा परेका छन्। तिम्रा उद्योग र कारखानमा खिया लागेका छन्। यता तिमी आफ्नै अफेअरमा मस्त छौ, सायद नयाँ रामायण तयार गर्दैछौ, दैनिक कलेजको यात्रामा निस्कन्छौ, सायद नयाँ वेद लेख्दैछौ। अब तिम्रो रेस्टुरेन्ट र डिस्कोको झन्झनाहटमा नयाँ गिता लेखिन्छ, तिम्रो राजनीतिमा नयाँ चाणक्य नीति लेखिन्छ, तिम्रो जीवनका अद्भुत घटनाले नयाँ महाभारत खडा गर्छ। भव्य जीवन जिउँदै छौ तिमी। तिमी एक उदाहरण हौ, तिमी एक मिसाल हौ। कसरी एक मानव पशुको जीवन जिउन सक्छ, तिमी एक प्रेरणा हौ। तिमीलाई इतिहासका पानामा लेखिनुपर्छ, सुनौला अक्षरले पुग्दैन, हिराका अक्षर कुदिँनुपर्छ।

ए कथित राष्ट्रवादी, चार छाक खान्छौ, दश पटक बाथरुम छिर्छौ। मोबाइलमा टुङ्ग घन्टी बन्छ, दिनैभर बजीरहन्छ, रात समेत छोड्दैन, घोत्लिरहन्छौ, घोचिरहन्छ, ट्यापीरहन्छौ। मास्क उन्छौ, अनुहार छोप्छौ अनि राजधानीको सडकमा क्याटवाक गर्छौ। पिच्च पिच्च थुक्छौ, ठेल्छौ, पेल्छौ। कसैको इज्जत गर्न जान्दैनौ, अरुले नगरे, घोरिन्छौ,  बिनाकारण सुरिन्छौ, मडारिन्छौ, मठारिन्छौ । कल्पनाको सिमा छैन, तिम्रा योजनाहरु छाडा छन्।  २-४ साथीभाइ भेट्छौ, रेस्टुराँ र डान्स बार छिर्छौ, माया र मायालुको पछि लाग्छौ, वाह! तिम्रो जीवन। तिमीलाई गिनिजबुकमा लेखिनु पर्छ, एक पेजमा पुग्दैन, पुरै किताब छाप्नुपर्छ। 

तिमी फुलटाइम 'सपना बुन्छौ'। आइमाइ प्रवृति हावी छ। तिमी बुढीको कुरा काट्छौ, आफ्नै बुढाको पोल खोल्छौ। परिवारमा बस्छौ, आपसमा सद्भाव राख्दैनौ, समुहमा बसेका बाँदरका पनि आफ्नै अनुशासन छन्, तिमी भन्दा बाँदर समृद्ध छ। बाँदर जतिको चेनता सम्म छैन। तिम्रो मगजमा दरिद्रता छ। तर जीवनमा समृद्धी खोज्छौ? अनि  प्रश्न गर्छौ, देश किन बनेन।

ए अमर राष्ट्रवादी, भोली तिम्रो मृत्युको दिन हो। मर्दैछौ तिमी। खरानी हुँदैछौ। देख्ने छैनौ परिवार। भेट्ने छैनौ  आफन्ती। साथीभाइसंग छुट्टिने छौ। तिम्रा माया र मायालुसंग ब्रेकअप हुनेछ, सदाको लागि। तिम्रा कमाइ, धमाइ, रमाइ, खुवाइ, लगाइ, भोगाइ सबै जल्ने छन्। तिम्रो मोज, मस्ती, डिस्को, क्लब, रमझम, झमझम, सबै सकिनेछन्। बिलिन हुनेछौ। तिम्रो नामो निसान हुने छैन। यही हो भाग्य, खप्परमा लेखेको छ, तिम्रै हत्केलामा कोरिएका छन्, मर्दै छौ तिमी। 

तिमीलाई त पत्तै छैन। जीवन अमर सरी घोटिएका छौ, आखिर के-का लागि? समृद्धीका लागि ? सु:खका लागि ? कति भयो घोटिएको, कति भयो रगडिएको ? पायौ समृद्ध, भयौ सुखी ? 

छैन? किन ? बाटो गलत भयो कि? मानसिकता गरिब भयो? 

चुइँया हौ तिमी। ठग हौ तिमी। चोर हौ। आफैलाई ठग्छौ। अरुलाई किन छोड्छौ र ? ठगी र चोरीमा माहिर छौ, कसरी हुन्छौ त समृद्ध ? लिन जानेका छौ। खोस्ने, जोड्ने, थुपार्ने, तान्ने, संगाल्ने मात्र गर्छौ, दिन पटक्कै आउँदैन, सहयोग मनको कुन कुनामा कोचिएको छ थाहा छैन, सद्भावको नामोनिसान छैन। मगजमा घाँसपात र काँडाकाघारी उमारेका छौ।  हाँसो अनुहारमा झल्किदैन, खुसी देखावटी बनेको छ। मेकअप गरेर निस्किएकी आइमाइ जस्तो, अरुलाई देखाइदिन हाँसिदिन्छौ। अरुलाई देखाइदिन सहयोग गरिदिन्छौ। तिम्रा हरेक दान र धर्म देखावटी छन्। भगवानसंग पनि बार्गेनिङ गर्छौ। यस्तो दशा जगाएर समृद्ध हुन्छौ, खुसी हुन्छौ, सुखी हुन्छौ? 

धन छैन त्यसैले दु:खी छौ? हो र ? धनी भएकाहरुलाई हेरेका छौ? कुनै मंगल ग्रहबाट झरेका जस्ता। खोक्रा। शुन्य। नाकको टुप्पोमा गर्व झुन्ड्याएर अनुहारमा घमन्ड पालेका। मान्छे गन्दैनन् अरुलाइ। मान्छेको जीवनको मूल्य र गरिमा बुझेका छैनन् । अर्थात आफ्नै जीवनको मूल्य बुझेका छैनन्। तनावमा छन्, पेलानमा छन्, पिसिएका छन् बिचारा, भित्र भित्रै गरिब छन् कठ्ठै। धन छ प्रसस्त, कुडिएका छन्, दबिएका छन्, पोलिएका छन्, भित्र भित्रै रुदै छन्। दरिद्र छन्। यस्तो मानसिकताले भरिएको देश समृद्धी हुन्छ? 

तिमीलाई लाग्छ एकाएक धन कुम्ल्याएका हाम्रा नेता, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र कर्मचारीले यो देशलाई समृद्ध बनाउँछन्? सपनामा छौ। उठ-जाग। तिम्रो दरिद्रता कुनै राष्ट्रवादीको भाषणले निर्मुल पार्दैन। तिम्रो मगजको काँडाघारीलाइ कुनै सपना र योजनाले उखेल्दैन। तिम्रो खुसी र सुख ल्याउन सक्दैनन् यी राष्ट्रवादी नेताहरुले। तिम्रो समृद्धीको लागि अरुले गर्दैन, गर्न सक्दैन। हो, कसैले औला समाती केही छिन डोर्याइदेला, तर गर्ने आफैले हो। 

तर होइन, तिमीलाइ यस्ता कुरा पच्दैन। तिमी त कट्टर राष्ट्रवादी पो हौ, जुझारु कार्यकर्ता पो हौ, ठूलाठालु पो हौ। तिमीलाई त राजनीतिक गुट बनाउन आउँछ, ठूला योजना फुराउन आउँछ। बन्द कोठामा तिमी तिम्रा नेता जस्तै भेला हुन्छौ, अनि देश विकासको खाका कोर्छौ, सपना र कल्पना बुन्छौ अनि आफ्नो दुनो सोझ्याउन व्यस्त हुन्छौ।


तिमी जस्तो छौ, तिम्रा नेता उस्तै छन्। तिमी दरिद्र छौ, मन्त्री ठग छन्। तिमी हुतिहार छौ, नेता कामचोर छन्। तिमी अल्छि छौ, तिम्रा मुख्यमन्त्री चोर छन्।

तिमी र तिम्रा नेतामा भिन्नता पनि छन्। तिमी शिक्षित छौ, तिम्रा मन्त्री काला अक्षर भैसी बराबर। तिमी देशको सोच्छौ, तिम्रा नेता आफ्नो सोच्छन्। तिमी घोटिन्छौ, रगडिन्छौ, तिम्रा राष्ट्रपति विदेशी कारमा हुँइकिन्छन्, सररर...।

तिमी विदेश जान्छौ, ज्याला मजदुरी गर्न, तिम्रा मन्त्री जान्छन् मोजमस्ती गर्छ। विचार गर त, विदेश घुम्न गएका, प्रविधि र विकास सिक्न गएका मन्त्रीले अहिलेसम्म के ल्याए देशमा ? 'सगरमाथा' र 'बुद्धको जन्म भूमी' ?

तिमी लठप्रो हौ, तिम्रा प्रधानमन्त्री चतुर छन्। त्यसैले तिमी सधै दरिद्र नै रहनेछौ। तिम्रो मानसिकताले देश सधै गरिब रहनेछ। तिम्रो अर्कमण्डताले दु:ख पाइरहनेछौ, तिम्रा बालबच्चा तड्पिनेछन्। तिमीले सबैको जीनाहराम गराइरहनेछौ।


तैपनि समय समयमा घरबाट निस्कनु, हिड्दा वरिवरी मुन्टो घुमाउनु, बेलाबेला खाटबाट ओर्लनु, टुडिँखेलमा भाषण पनि सुन्नु, सिंहदरबार पनि पस्नु, गल्ली गल्ली चाहर्नु, चारै तिर खुब ध्यान दिएर हेर्नेु, के थाह समृद्धी आएर पो गइसक्यो कि ?

फुर्सत भए खेतबारीमा डुल्नु, पानीमा मुहानमा पुग्नु, डाँडाका चुचुरोमा चढ्नु, जंगल-जंगल पस्नु, के थाह समृद्धीको मुल फुटिसक्यो कि?

जीर्ण भइ धराशायी भएका संचरना हेर्नु, भुकम्पले भत्काएका एतिहासिक भवन भ्रमण गर्नु, खिया परेका कारखाना डुल्नु, के थाह विग्रेभत्केको संचरनामा समृद्धी पो भेटिन्छ कि?

तर खेतबारीमा पटक्कै हलो नचलाउनु। बाँझै छोडिदिनु। किनकी त्यहाँ किटपतंग छन्, को हौ तिमी खेतबारीको शान्ति भंग गर्ने?

बाटोघाटो बनाउँदा घरबारी पर्यो भनी मुद्धा हाल्नु, नारावाजी गर्नु,बन्द हड्ताल गर्नु, तोडफोड गर्नु, चर्को चर्को कराउनु। आखिर कोचिएको सडकको जाममा एम्बुलेन्स भित्र निसास्सिएर मर्दा तिमी स्वर्गै पधार्नेछौ, सर्टिफिकेट छ तिमीसंग, घर, जग्गा र सम्पति।

देश समृद्ध भए विदेश जानु पर्दैन। त्यसैले मौका छोप्नु। खेतबारी बुढाखाडाको जिम्मामा छोडिदिनु।  विदेश जानु। पैसा कमाउनु। घर जग्गा जोड्नु। अनि नबिर्सनु, बेला-बेला फर्किएर धुलो र धुवाँको कम्प्लेन गर्नु, देश र जनतालाई गाली गर्नु अनि तिम्रा बुढाखाडा बाआमाले चुनेका होनाहार नेताको आलोचना गर्नु।

कुकुरले त पेट पालेको छ, तिमीलाई पेट पाल्न के गाह्रो। त्यसैले विदेश जान नसके घरमै बस्नु, घरको सुरक्षाको खातिर। जागिर नखानु,  काम गर्न आवश्यक छैन।

जागिर खान मन लागे, एनजीओ, आइएनजीको धाउनु। धेरै पैसा आउँछ। थोरै पैसाको जागिर नखानु, सरकारी जागिर त हुँदै हुँदैन, मोजमस्ती गर्न पुग्दै पुग्दैन।

केही सीप नलागी सरकारी जागिर खाए घुस लिन नबिर्सनु। कमिसन नछुटाउनु। देश बनोस या नबनोस्, आफु बन्नु पर्छ। भुँडी भर्नु पर्छ। जग्गा जमिन संगाल्नु पर्छ। धन-मान बटुल्नु पर्छ। आफु नबने देश कसरी बनाउने ?

त्यसैले लुट्नु, चोर्नु, ठग्नु, घुस खानु। आफ्नो अनुभवको क्षेत्र छोड्नु हुँदैन।

विवाद गर्नु, गाली गर्नु, परिआए दुइ चार मुक्का हानी हाल्नु। मौका छोड्नु हुँदैन। आफ्नो अनुभवको क्षेत्र छोड्नु हुँदैन।

रक्सी पिउनु, चुरोट तान्नु अनि तारेभीरको गाँजा बेच्नु। अवसर नगुमाउनु।

छोइला लुछ्नु। भुटेको बदामसंगै बियरको चुस्की लिनु। परिआए काटमार गर्नु, मासु बेच्नु। खुबी हो तिम्रो। मौका छोप्नु।

यसो गरिरहँदा बेला बेला, 'सगरमाथा नेपाल को शान' भन्न नबिसर्नु। बुद्ध नेपालमा जन्मेको भन्न नछुटाउनु। तिमी त गर्न सक्दैनौ, तिम्रो मुखारबिन्दुबाट यीनको पनि इज्जत माटोमा मिलाइदिनु।

यही हो तिम्रो खुबी, यही हो तिम्रो अनुभव, यही हो तिम्रो क्षमता। नपत्याए तिम्रो परिवारलाई हेर, होलल्लामा रमाउने तिम्रो समाजलाई हेर, तिम्रो नेतामहागणलाई हेर, देशको अवस्था हेर, अनि आफुलाई हेर। थियो होला भित्र कतै, तर देखिदैन बाहिर। छैन मानवीय चेतनशीलता, पटक्कै छैन। मगजमा ह्याण्डीप्लास्ट टाँसिएको छ, बिरामी छ तिमीहरुको मगज। एनेस्थेसिया हालेको बिरामी झै खाटमा सत्रङ्ग पल्टिन्छौ, ए सम्य मानव, कुकुर पनि एउटा सानो आवाजले उठ्छ, अनि भूक्न थाल्छ, तिमी त लडिरहन्छौ लाश जस्तो। कसरी मान्ने तिमीलाई चेतन।

उठेदेखि नसुतेसम्म पेटमा हुलिरहन्छौ, चपाइरहन्छौ, पिइहरन्छौ। टन्न खाएपछि एउटा गोरुपनि जान्दछ, मिठै घाँस पाएनि खाँदैन, तर तिमी त ठेलिरहन्छौ, ठुँसिरहन्छौ अनि दिनैभर डकारिरहन्छौ, पादिरहन्छौ, अनि लडिरहन्छौ, मडारिन्छौ,तिम्रै त्यो प्यारो ओछ्यानमा। अझै प्रश्न गर्छौ, देश समृद्ध किन भएन?

No comments:

Post a Comment