विद्वान मन्त्रीको कुर्सी मोह

सगरमाथाको देश, बुद्धको जन्मभुमी। जलस्रोतको दोस्रो धनी देश। तराइ, पहाड र हिमाल तीनै भु-भाग एकै क्षेत्रमा पाएको भाग्यमानी देश। यति सानो क्षेत्रमा यतिका जातजाति र भाषाभाषी सायदै कुनै अर्को देशमा छ।

हत्यारा देखी राष्ट्रवादीसम्मको फैलावट पनि यहि सानो क्षेत्रमै भेटिन्छ। जुवाडे देखि वैज्ञानिकसम्मका बुद्धीजीवै पनि यही देशमा भेटिन्छन्। यहाँ कुनै ठग सन्त बनिदिन्छ, कुनै हत्यारा मन्त्री भइदिन्छ। कुनै चोर न्यायाधीस बन्न सक्छ, कुनै पुलिस चोर भइदिन्छ। भ्रष्टाचारीको छवी सबैभन्दा माथी छ, खेतमा हलो चलाउने सबैभन्दा तल्लो ठानिन्छ। यो विचित्रको देशका अकल्पनीय विशेषता भनिसाध्य छैनन्। गरिसाध्य छैन।



यसो भनेर देशको इज्जत माटोमा मिलाएको पटक्कै होइन। किनकी इज्जत त उसको माटोमा मिल्छ, जसको हुन्छ। हुँदै नभएको इज्जत 'डाउन' गर्न खोज्ने महामूर्ख म हुँदै होइन। 

यसो भन्दा 'कट्टर राष्ट्रवादी' रिसाउन सक्छन्। 'देशभक्त' बटारिन सक्छन्। तर यो जरुरी छैन।

किनकी तिमी 'राष्ट्रवादी'को देशमा अनौठो घटना घटेको छ।

यीनी कुन पार्टीका हुन मलाई थाहा छैन। किनकी म दिक्कार छु, छिनछिनमै पार्टी टुट्ने, फुट्ने, जुट्ने। अनि उस्तै उस्तै नाम राखिदिने, मेरो वर्खतले भेट्दैन। खैर, मान्छे चिनिएका हुन, गुनिएका छन् ,चर्चित छन्। उपेन्द्र यादव। परराष्ट्र मन्त्री थिए कुनै बेला। अहिले स्वास्थ्य मन्त्री भएका छन्। लामो समयपछि सरकारमा आएका। खै के कारणले सरकारबाट टाढा रहे पत्तो भएन, अहिले प्रधानमन्त्रीज्युले के क्षमता देखेर ल्याए मैले जान्ने कुरै भएन।  

अर्का नमुना छन्, विजय कुमार गच्छदार। अहिले मन्त्री छैनन्। तर यो लेख प्रकाशित हुँदै गर्दा मन्त्री नहोलान् भन्न सकिन्न। यिनलाइ राष्ट्रहितको पक्षमा काम गर्ने नेताको रुपमा लिइन्छ। जे गरेपनि देश बेच्ने काम गच्छदारले गर्दैनन्, राजनीतिमा चासो राख्ने एक सच्चा नेकपा कार्यकर्ताले भनेको म याद गर्छु। यीनै गच्छदार निकै बहुमुखी प्रतिभाका धनी पनि हुन। स्थानीय विकास मन्त्री,  भौतिक पूर्वाधार एव यातायात व्यवस्था मन्त्री, के-के हो के-के। १४ पटक मन्त्री भएका। १४ वटै फरक मन्त्रालय नपाएपनि आधा दर्जन मन्त्रालय त सम्हालिसके। 

यी मन्त्री महोदयहरु केवल पात्र हुन। यहाँ त होडबाजी छ, मन्त्री देखि प्रधानमन्त्रीसम्म, कसले कति पटक मन्त्रालय पड्काउने। कुर्सीमा उक्लने। 

यी महानुभावहरु कुनै चर्को शैक्षिक व्याक ग्राउण्डका होइनन्। अर्थात आफुले सम्हाल्ने मन्त्रालयबारे कुनै गहन ज्ञान भएका हुँदैनन्। मन्त्री भए पुग्यो, बरु अलिक महत्वपूर्ण मन्त्रालय पाए, शक्तिशाली भए, उपप्रधाननै पड्काउन पाए गज्जब। किनकी मन्त्री हुन कुनै आधार चाहिदैन, कुनै सर्टिफिकेट मागिदैन। यसको एउटै मापदण्ड छ, चाप्लुसी र दुइजिब्रे। 

क्षमता नभएको महानुभाव कुर्सीमा उक्लेर मन्त्रालयको बलात्कार गर्ने ट्रेन्ड छ यो नमुना देशमा। यहाँ जे पनि सम्भव छ। साच्चै अलौकिक देश हो यो।  सार्वजनिक गाडी नचढेका यातायात मन्त्री। अक्षर चिनेपछि शिक्षा मन्त्री, रोगले ग्रस्त स्वास्थ्य मन्त्री, पैसा कुम्ल्याउने जानेपछि अर्थमन्त्री, रिसले चुर गहृमन्त्री। वर्तमान मन्त्रीहरुलाई भनेको पटक्कै होइन। चलिआएको ट्रेण्ड बताउँदैछु, दुर्भाग्य देखाउँदै छु, हविगत दर्शाउँदै छु।

नयाँले पालो पाउँदैनन्, दक्षले कुर्सी भेट्दैनन्। हाम्रा मन्त्री, महामन्त्री, ठालुमन्त्रीले भद्र सहमति गरेका छन्। कुर्सीको पालैपालो बलात्कार गर्छन्। नयाँ नयाँ समस्या जन्माइरहन्छन्।

एक नागरिकको हैसियतले सोच्दा मन्त्रीको पद निकै शक्तिशाली हुन्छ। जे गर्न पनि शक्ति राख्ने। तर एक आम नागरिक प्रश्न गर्छ, खै त विकास भएको ? पदमा पुग्नु अघि त अनेकन सपना र योजना सुनाउँछन्, पद सम्हालेपछि ढलेको सिन्को पनि भाँचिदैन, आखिर किन?

हो, राजतन्त्र ढलेपछि कुनै स्थिर सरकार आएन। समय पर्याप्त नहुँदा उल्लेख्य विकास हुने वातावरण हुँदैन। अब स्थिर सरकार छ, सायद केही भइहाल्छ कि ? हो, यो आशा हो यो सबै समस्या मुख्य जरो। आशा देखाउन हाम्रा नेता खप्पिस छन्। सायद यो कला नहुँदो हो भने कोही मन्त्री महामन्त्री टिक्दैनथे, यो खुबी बढो गज्जबको छ।

म मन्त्री भए कुनै आशा देखाउन्नथे। पुरै कायपलट गरिदिन्थे। पहिलै आफ्ना आफन्तलाई थुनिदिन्थे। यसको विरुद्धमा सडकमा उत्रनेमाथी डण्डा बर्साउँथे। म यो जरुरी देख्छु। लोकतन्त्र बढी भएको हो। गणतन्त्रको अर्थ बुझाउन जरुरी छ। ज्ञापनपत्र लिएर मन्त्रालय धाउनेको अनुसन्धान गर्दै थुन्दै गरेपछि ढुक्कले काम गर्ने वातावरण बनाउँथे। कामको जिम्मा लिएकाले काम गरेनन्, बहाना बनाउछन् र दोष अर्को थाप्लोमा हाले, दोस्रो चान्स होइन, जेल हाल्थे। अनि दोष भिराइएको कार्यालय र कर्मचारीलाई कारवाही गर्थे। जागिरबाट निस्कासन होइन, सर्वस्वहरण गर्थे। लोकतन्त्रमा केही समय एकतन्त्र चाहिएको छ। यो देशका अधिकांस सरकारी कर्मचारीलाई जेल हाल्न अति आवश्यक छ। अविवाहित भए एक्लै नत्र बुढाबुढी सहित।

म शान्त प्रवृतिको व्यक्ति हुँ। तर समय समयमा मेरो मगजमा एकतन्त्रीय शासनका विचार हावी हुने गर्छन्।  

यी मन्त्रीका कुर्सी निकै शक्तिशाली देख्थेँ। तर सधै एउटै प्रश्न आउँथ्यो, आखिर केले रोकेको छ ? केमा अल्झिएका छन् यीनिहरु, मैले सहजै देख्ने देशको विकास आखिर किन हुँदैन? खेतबारी बाँझो देख्दा यीनको मन किन दुख्दैन? गर्मी हुँदा छप्लाङ्ग हामफाल्न मिल्ने काठमाडौंका निला नदीनाला ढल बन्दा किन पोल्दैन यीनका मन ? कर्मशील युवावर्ग विदेशीय, देश खोक्रो हुँदा समेत किन आत्तिदैनन् यी आत्मा ?

तब मेरो कुनै जिम्मेवारी थिएन। न कुनै कमाइ नै थियो। खुल्ला साढेँ जस्तो। अनि हातमा आफ्नै कमाइ आउन थाल्यो। अोहो, कत्रो माया हुने। खर्च गर्न एक सेकेन्ड नसोच्ने, अब खल्तीमा पैसा हुँदा पनि निकाल्न मन नहुने। यो के अचम्म हो, कस्तो मोह हो ?

अब पनि एकतन्त्रका विचार आउँछन्, संगै पैसा कुम्ल्याउने अवसर पनि। त्यो कुर्सीमा उक्लेको छैन। उक्ले भने मै पनि हाम्रा मन्त्रीमहानुभाव जस्तै हुन्छु कि ? के थाहा, अझै 'इफेक्टिभ' कमाइ पो गर्छु कि ? देश पुरै लुट्छु कि ? ठ्याक्कै अहिले जस्तै।

विकास नहुने इच्छा नभएर होइन रहेछ। बरु इच्छा नै भएर हो रहेछ। मात्र कुम्ल्याउने इच्छा। किनकी सरकार सधैको लागि रहँदैन। पाएको बेला नबटुले कहिले गर्ने? मौकामा नछोपे पछुतो होला, देश विकास अरुले गर्दै गर्छन्, जग्मा जमिन त अहिले नै जोड्नु पर्छ।

हाम्रा महामहिमहरु मन्त्री कम 'कलेक्टर' बढी हुन। इच्छा र चाहनाका पिण्ड हुन। घमन्ड र रिसका झुण्ड हुन। 'डन्ट जज अ बुक बाइ इट्स कभर' भन्छन् तर अनुहार देख्नुभा'छ। घाँटीमा चिन्ताको डल्लो गाँसिएको जस्तो। आँखा झुकेका छन्, निधार खुम्चेका छन्, मुख लट्किएका छन्। ठूलो गल्ती गरेजस्तो, आत्मग्लानी र पछुतो प्रष्ट देखिन्छ। लाज र डर मिस्रित स्वरमा भाषण गर्छन्। कदम कदममा डर दर्शाउँछन्। दुविधामा छन् विचारा। दयनीय अवस्थामा छन्, कठ्ठै। यस्ता विद्वानहरु छन् पदमा, अनि म सोच्ने गर्थे, किन गर्न सक्दैनन् काम ?


हाम्रा मन्त्रीमहागणको आत्मा कुर्सी कुर्सी भन्छ, सकसकाइरहन्छ, चिच्याइरहन्छ। अशान्त प्रेतात्मा। छटपटाइरहन्छ। कुनै 'चेन स्मोकर' जस्तो। एउटा कुर्सीमा बस्यो, उठ्नासाथ अर्को खोजिहाल्छ, कुर्सी एडिक्ट।  

यो लेख लेखिदै गर्दा संसद भवनमा भने नेकपाकी सासंद पम्फा भूषालको माइकले काम गरेन। अनि माइक राम्रो चाहिएको इच्छा राखिन। अनि कुर्सी अप्ठ्यारो भयो, ताली पिटन् टेबुल भएन भनिन। त्यसपछि सायद होस आयो, सार्वजनिक गाडीमा यात्रुले सिट पाएनन् भनेर बिट मारिन। यात्रुको लागि यस्तो सहानुभुती प्रकट गरेकोमा धन्यवाद त दिनै पर्छ हाम्री यी कुर्सी प्रेमी सांसदलाइ।


मेरो इच्छा छ, यी दुर्व्यसनीमा फसेका मन्त्रीमहानुभावहरुलाई 'रिहाबिलिटेसन होम' लगियोस्। करेन्ट लगाएरै भएनि कुर्सी मोह छुटाइयोस्। 

यहाँ त भताभुङ्ग छ नै, बरु मलाई चिन्ता छ, डर छ, यीनीहरु अर्को लोकमा कुर्सीको लागि लड्नेछन्। परलोक समेत अशान्त बन्नेछ। नर्कमा समेत दंगाफसाद गर्नेछन्। कोही उछिट्टिएर स्वर्ग पुगे त्यहाँ पनि राजनीति गर्नेछन्।

मेरो भन्छु, स्वर्गबाट इन्द्रको कुर्सी नछिनिओस्, लोकतन्त्रको नाममा अप्सराहरुको आन्दोलनका कथा हाम्रा बालबच्चाले पढ्न नपरोस्।  लौन कसैले यो कुर्सी आतंक कम गरिदेओ। बरु राचीँ लैजानै परेपनि 'ओके', महामहिमहरुको आत्मा शुद्ध पारिदेओ।

ठोकुवा गर्न सक्छु, यीनले इन्द्रको कुर्सी छिन्न सक्छन्। कैलाश पर्वतमा नाकाबन्दी गरेर शिवको मगज सड्काउन सक्छन्। लौन यसको उपाय खोज्न जरुरी छ। होइन भने, स्वर्गीय आनन्द भोग गर्ने हाम्रा चाहना खोलै खोला जानेछ। यहाँ त कराइकराइ बाँच्नु पर्याछ, मरेपछि पनि पुर्पुरोमा हात राखी स्वर्गमै नारा लगाउनु पर्नेछ। 

आशा गरौं, यी सबै स्वर्ग पुग्दैनन्। नर्क जानेछन्। तर मेरो दुरदृष्टीले झनै भयावह देख्छ। नर्कमा यिनले सौदाबाजी गर्छन्। गुट-उपगुट बनाइ पार्टी खोल्छन्। दुःखी आत्माहरुलाई एकत्र पारी यमराजको शासन ढाल्नेछन्। लोकतन्त्र र गणतन्त्रको नाममा आन्दोलन गर्नेछन्। ओहो, यो आन्दोलन स्वर्गमा पुग्ला। गोला बारुद र तातो तेलको युद्ध होला। इन्द्राशन खोस्न जनआन्दोलन चल्ला। सारा ब्रह्माण्ड हल्लिनेछ, धरमराउने छ। पृथ्वी काम्ने छ, भूकम्प र ज्वालामूखीले अस्तव्यस्त पार्नेछ। लौन यो रोक्न जरुरी छ। कुर्सी मोह तोड्नै पर्नेछ।

No comments:

Post a Comment