लु हेर, २ तिहाइको पावर !

कुनैपनि फेरबदललाई उपलब्धी भन्न सकिन्छ। मुलत: परिवर्तनलाई नै उपलब्धीको अर्थ लगाउन मिल्छ। उपलब्धी राम्रो र नराम्रो हुन्छ। हाम्रा वर्तमान प्रधानमन्त्रीको उपलब्धी भने यो दुवै क्याटेगोरिमा पर्दैन। प्रधानमन्त्री जीले प्राप्त गर्न खोज्नु भएको उपलब्धी अलौकिक वर्गमा पर्छ।



नेपालमा विदेशी रेल भित्र्याउने प्रधानमन्त्री जीको सबैभन्दा ठूलो लक्ष्य छ। मलाई लाग्छ, यो उपलब्धी प्राप्त भएमा ओलीजी मृत्यु पश्चात स्वर्गै पधार्नु हुन्छ। यो बाहेक ओलीजीका अन्य योजनाहरु खासै चर्चामा छैनन्। पानीजहाज एकताका हाइटमा पुगेको थियो। मनसुन सुरु भएपछि बाटो घाटो खोलानाला बने अनि बस र जिपले पानीजहाजको पूर्ती गरिसकेको छ, त्यसैले यसले फेरी पहिले जस्तै चर्चा पाउँदैन।

गृहमन्त्रीजीको उपलब्धी पनि दमदार छन्।

सिन्डिकेटको अन्त्य गर्नुभयो, आजभोली गाडीमा च्यापिएको हिडेको छु।
बाटोघाटो बन्छन् भन्नुभयो, मध्यदिनमै बाटो कहाँ छ खोजेर हिड्नुपर्छ, रोडमा यो पटक पनि धान रोपियो।
ठेकेदारलाई कारवाही हुन्छ भनेर बकाइदा चिच्याउनु भयो, एउटा ठेकेदार समातिएको सुन्नुभयो ?
प्रतिबन्ध क्षेत्र घोषणा गर्नुभयो। किनकी काम एउटा बनेन, लाज लाग्यो, डर लाग्यो, मुखमा पट्टी बाँध्नै पर्यो नि ? त्यो पनि साउन १ बाट लागु हुने भनिएको थियो। असारमै भक्काभक समातिए। कति छिटो ! झ्याल्टुङ झ्याइँ गर्दै गाडीमा कोचियो, लकअपमा हुलियो।

जनता समात्न कति सजिलो है । मन्त्री ज्युलाई लाज लाग्ने त कुरै भएन। चोर, फटाह समात्न नसकेपछि जनता भएनि समातुम न, काम गर्या जस्तो पनि देखिने, शक्ति प्रदर्शन पनि हुने। 

म गृहमन्त्री !
लु हेर, २ तिहाइको पावर !

गृहले जिल्ला-जिल्लाका संघसस्था र गैरसरकार संस्थाको सम्पति विवरण माग्न पत्र काटेछ, प्रधानमन्त्री जीलाइ के लाग्यो कुन्नी अर्को पत्र पठाएर भो पर्दैन भन्नुभएछ। यस्तो विकासवादी सरकारलाई लुकाउनु पर्ने चाहीँ के रहेछ ? हैन यो राष्ट्रवादी छवी ओलीजीले कहाँ लुकाउनु भएछ?

बाहिरबाट यति स्पष्ट देखिने समस्या र कारण, यी अलौकिक महानुभावले किन देख्दैनन्। स्वाङ पारेका हुन कि साच्चै अन्धा छन् ? त्यो कुर्सीमा बसेपछि के-को डर हुन्छ यीनलाई ? गर्न सक्दैन भने बहुमतको सरकार छ, अनि किन गफ मात्र हानिन्छ?

एउटा त कुर्सी मोह नै हो। सडक फैलाउँदा कसैका घर, जमिन अनि ठकेदारका पैसा सकिन्छ। ठग, चोर समात्दा त झन् आफ्ना आफन्त नै पर्ने डर। व्यक्तिगत सम्बन्धले अगाडी बढेका हुन हाम्रा मन्त्रीगण। अनि आफ्ना आफन्तीलाई थुनेर भोली कसले सहयोग दिने ?

चिकित्सा शिक्षा अध्यादेश फेरबदल गरेर आफ्ना नजिकका स्वार्थी व्यापारीहरुलाई मेडिकल कलेज खोल्न सहज गर्दै गरेको यो सरकारको महानताको अर्को के उदाहरण दिन सकिएला र?

विश्वको ९९ प्रतिशत सम्पति १ प्रतिशत व्यक्तिसंग छ। ठ्याक्कै, यो देशको १ प्रतिशत धनीहरुसंग देशको चावी रहेछ, पदमा चाहे जो-सुकै बसोस्। ओली,प्रचण्ड, देउवा एउटै चिन्तन भएका फरक पार्टीका नेताहरु हुन। देश लुट्ने विषयमा बन्द कोठा भित्र मजेदार छलफल गर्छन् अनि पालैपालो देशको ढुकुटी बाँडिचुडीँ गर्छन्। यो कुर्सी नै अचम्मको ठाउँ छ। यहाँ पुगेपछि नेताहरुको मतिहराम हुने रहेछ।

सायद कुर्सीमा बसेपछि एकखाले प्रेतआत्माको दर्शन होला। किच्कन्नेको कथा जस्तो। मध्यरातमा भेटिएकी सुन्दर युवती, केटो टाँसियो, लिप्सियो, मोह जालमा फस्यो। विस्तारै त्यसले वसमा पारेपछि सारा खेल खतम।

नत्र चन्द्रमा सम्म सुनिने गरी चिच्याएका प्रधानमन्त्रीजीका विकास खै ? हरेस खाए बुढाले।

अब रिस जति जनताकै थाप्लामा पोख्न सुरु भएको छ।
र यो सरकारको अति राम्रो कदम हो । हामी जस्ता कामचोर, अनावश्यक विषयमा उफ्रने, चाहिनेकुरामा बोल्न नसक्ने हुुतिहारा जनतालाइ फुटबल नै ठिक छ। हामीलाइ बाटो चाहिएको छैन, यात्रा गर्दा सिट चाहिएको छैन, स्कुल कलेजमा वर्षेनी बढेको फिस झन् काइदा, नागरिकता, लाइसेन्स बनाउँदा घुस दिन परे झन् गज्जब। हो हामीलाइ चाहिएको यही हो। र यी यो सरकारले बिस्तारै पुरा पनि गर्दै जानेछ। आखिर यो जनताकै सरकार हो।
र यो प्रतिबन्ध त्यसैको पहिलो कदम हो। 

No comments:

Post a Comment