'जन्मे पछि मर्नै पर्छ' सुन्नेहरु मरिसके, जति जीवित छन् ति पनि मर्नेछन्। तर यी जीवितहरुको हर्कत अजीवको हुन्छ। यीनीहरुको व्यवहारबाट भान हुन्छकी जीवन अमर छ।
यीनीहरु याद गर्दैनन्, दिन प्रतिदिन, घण्टा प्रतिघण्टा, सेकेन्ड प्रति सकेन्ड, क्षण प्रति क्षण मृत्यु नजिक आउँदैछ। तर अनुहारमा चिन्ता अरु नै छ, भय अर्कै छ। मनमा कुण्ठा बोकेर लामो दौडमा होमिएका छन्।
अन्तत: सबै सपना, कल्पना, आकांक्षा र मोह छोडेर प्राणले शरिर त्याग्दिन्छ। यीनको सम्झनामा २-४ दिन कोही रोइदिन्छन्।
तर उसको लागि सारा दौड समाप्त भइसक्यो। सु:खको दौडमा दौडिएको उ दु:खै दु:खमा सकियो। केही पाउने आशामा जन्मिएको उ सबै छोडेर मर्यो।
उ भर्खर जन्मियो। उसको परिवारमा खु:सी छाएको छ। बाबु-आमाको नयाँ आशा पलाएको छ। अब उसले बाबु-आमाको सपना पुरा गर्छ। अनि आफ्ना सपना ।
चीरकाल देखी चलिरहेको रिले दौडमा भाग लिन एक नयाँ खेलाडी भित्रिएको छ। अहिले उ, मात्र दर्शक हो। टाढैबाट दौड निहाल्छ। म कहिले भाग लिन पाउने ? उसको मनमा प्रश्न उब्जिन्छ। उ ठूलो हुने प्रतिक्षामा छ। यो घुमाउरो चक्रका नियम कानुन सिक्छ, शिक्षित बन्छ। अन्तत: दौडको ट्रयाकमा पाइला राख्छ।
***
उ पाइला चाल्छ। घरि एउटा त घरि अर्को ।
उसका पाइला तिखा ढुङ्गामा पर्छ। घरि चिसो घाँसमा । प्रत्येक पाइला केलाउँछ। तिखा ढुङ्गाले उ दुखित बन्छ। अनि चिसो घाँसले फुरुङ्ग। उसका मस्तिष्कका उतारचढाव!
उसले सपना देख्छ। केही विपना भइदिन्छ। धेरै कल्पनै रहिदिन्छ। उही उतारचढाव!
उ उतारचढाव सहन सक्दैन। आत्तिन्छ। कहिले सम्हालिन्छ, कहिले मात्तिन्छ।
घुम्छ, खान्छ, पिउँछ, घोच्छ। उसका पाइलाका गति परिवर्तन भइरहन्छ। ढिलो, चाँढो!
तर अहँ समय कसैगरी रोकिनेछैन।
उ नाडीमा घडी हेर्छ, मुटु दौडिरहन्छ आफ्नो अन्तिम लक्ष्य पुग्न, रोकिन।
***
तर उ खै केमा अल्झिन्छ। खै ! किन बुझ्दैन उ, जे पार्दैछ जम्मा त्यही छोडी मर्नु छ।
तर, उसलाई थुपार्नु छ, धन, मन।
उसलाई पाउनु छ, मान, सम्मान, घर-जमिन।
उ जीवन भर ठग्छ, लुट्छ, कुट्छ, मार्छ।
उ दु:खी छ। बाहिर चिटिक्क पार्छ। मख्ख देखाइपार्छ।
नयाँ जोड्न उ पुराना नाता तोड्छ। बाबुआमा, दिदीभाइ, दाजुबहिनी गन्दै गन्दैन। उ पड्किन्छ, फन्किन्छ।
अहँ केही गरेपनि उ सन्तुष्ट हुँदैन। मनको शान्तिका लागि उ मन्दिर धाउँछ, मस्जिद, चर्च।
उ प्रार्थना गर्छ, पुज्छ, माग्छ, हात फैलाउँछ, भाक्छ।
नफर्किने जीवनका अमूल्य पलहरु उ त्यसै बिताइदिन्छ। सहजता, सु:ख, सुविधा, सन्तुष्टी लिएरै जन्मिएको छ। शान्ति प्राप्त गर्न केवल स्थिरताको खाँचो छ। आफ्नै चेतनासंग समागम आवश्यक छ। तर मानव हुनुको यो रहस्य उसले बुझ्दै बुझ्दैन। यो मात्र उ बुझ्दैन, अरु सबै उ जान्दछ, वा मान्दछ।
किनकी उ कहिल्यै रोकिएर हेर्दैन। फुर्सदै छैन!
कसरी होस्? एउटा समात्छ, अनि अर्को समात्न दौडिन्छ। दौडिरहन्छ। कठै उसको जिन्दगी!
अन्तमा उ रोकिन्छ, फरक्क फर्केिन्छ, हेर्छ, त्यो रिले दौडको ट्र्याक अनि उसको दौड। आखिर कसैसंग प्रतिस्पर्धा रहेनछ, उ बेकारमा दौडेछ, किनकि उसका जिबुबा, हजुरबा, अनि बा दौडेका थिए। अनि उ पनि दौडिएछ, अनाहकमै। उ झसङ्ग हुन्छ, बाँच्नै बिर्सेछ, हेर्नै बिर्सेछ, दौडेर स्थिरता? उसले बुझ्नु पर्थ्यो, यो असम्भव छ।
उसले जीवनमा स्थिर हुन सिकेन, रोकिन जानेन, अब उ चाहेर पनि दौडिन सक्दैन।
अब पाइला बाँकी छैन, शक्ति क्षीण भइसक्यो। उसको मुटुको ढुक-ढुकी बन्द हुनैलाग्यो। उसले आफ्नो परिवारसंग बिदा माग्छ। बाँचुन्जेलको आर्जन सन्तानलाई सुम्पन्छ। तापनी सन्तानलाई उही रिले दौडमा होमेर उ मर्छ।
No comments:
Post a Comment