मतिभ्रष्ट व्यवहारिकता

जोडी छुट्टिएको चप्पललाइ जोडी मिलाएर राख्नु व्यवहारिकता हो। ढलेको सिन्को उठाएर राख्नु पनि व्यवहारिकता हो। खाएको थाल माझ्नु पनि व्यवहारिकता हो। ए भाइ, के यत्ति हो त व्यवहारिकता ?

म देख्छु यहाँ त मतिभ्रष्ट व्यवहारिकता चल्दैछ। व्यवहारिकताको नाममा आफै पिडक बनी आफैलाइ पिडित बनाइएको छ। यसरी लिप्त भएको छ कि न मान्दछ, न मान्न चाहन्छ, न जान्दछ, न जान्न चाहन्छ। गतिभ्रष्ट भएको छ। व्यवहारिकताको उपहास भएको छ।

एक बेलुकी उमेरले पाकेका एक दाइसंग हिड्दै थिए।

'भाइ व्यवहारिक हुनु पर्छ।' उनले भने। 

'दाइ व्यवहारिकता के हो?', मैले सोधे।

'व्यवहार गर्न जान्नु पर्छ।', उनले भने।

'हो दाइ, जान्नुपर्छ।', मैले स्वीकारे।

'मलाइ यो क्षेत्रका केटाहरु ठिक लाग्छ। सबै गतिला छन्, कसैले नराम्रो गरेको छैनन। तर मलाइ गाँजा खाने मन पर्दैन।', उनले भने।

मैले भने, 'अनि मलाइ गाँजा खाने अनि रक्सी पिउने मनपर्दैन।'

मेरो अनुहार हेरेर उनी हाँसे। उनी रक्सीको मातमा थिए, अनि सहि गलतको परिभाषा दिदै थिए। कच्चा उमेरको भाइलाई व्यवहारिकताको उदाहरण पेस गर्दै थिए।

यहाँ यहि त चल्दैछ। व्यवहारिकताको नाममा मान्छे मतिभ्रष्ट बन्दैछ। 

स्कुलमा संस्कृत हटाएर नागरिक शिक्षा पढाइयो। शील पालना गर्नुपर्छ सिकाइयो। न सिकाउनेले पालन गरे, न सिक्नेले जान्यो। लेखेको कुरा कापी नै हरायो। मान्छे पटमूर्ख भैदियो।

जे दिए नि हुन्छ नाम; पञ्चशील, शील वा यम नियम। व्यवहारमा उतार्नको लागि थियो। किनकी मन वशमा पार्नु थियो। स्थिर अनि केन्द्रित बनाउनु थियो। तीक्ष्ण र स्वस्थ मस्तिष्कको लागि आधारशीला थियो शील।

ध्यानस्त मस्तिष्कको लागि विचार र भावनाको ज्वारभाटा शान्त हुनुपर्दछ। तीक्ष्ण मनको लागि मस्तिष्कमा ठूला वैचारिक घटनाहरु बन्द वा कम भएको हुनुपर्छ। यसैको लागि उपाय थियो शील। सत्य बोल, चोरी नगर, हत्या नगर, व्यभिचार नगर, दुर्व्यसनी नगर। यी व्यवहारमा उतारिएन। तर मान्छे भने व्यवहारिक कहलियो। 

'व्यवहार' शब्दबाट व्यवहारिकता बनेको छ। व्यवहार, स्वभाव र बानी पर्यायवाची शब्द हुन। जसले व्यवहार गर्न जान्दछ, उ व्यवहारिक हो। व्यवहार केवल दुइ तरिकाले गर्न सकिन्छ। आफुसंग र अन्यसंग। जसले आफैसंग व्यवहार गर्न सिकेन, अनि सिक्न चाहँदैन उ यो समाजको सबैभन्दा व्यवहारिक कहलिन्छ। हरे, मतिभ्रष्ट व्यवहारिकता!

सत्य बोल्दैन। बढाइचढाइ कुरा गर्छ। लुकाइछिपाइ कुरा बक्छ। यसैकारण गम्भिर वैचारिक धारामा बगिरहन्छ। यो अनि हजारौं, लाखौ अरु झुटको संरक्षण खातिर उसको मस्तिष्क लागिरहन्छ। बाहिर त बढो सुखी छु भन्छ, तर भित्र हुरी चलिरहेको छ। आन्तरिक संघर्षमा फसेको छ। झुठो बोल्ने बानीले उसले आफ्नो चैन गुमाएको छ।

चोरी गर्छ। सानो होस् या ठूलो। बिना लोभ चोर बन्न सक्दैन। जब लोभ आउँछ तब मस्तिष्कले सन्तुलन गुमाउँछ। तत्क्षण दुखी बन्छ। 

हत्या गर्छ। मान्छेको होस् या पशु। बिना क्रोध हत्या गर्न सकिदैन। जब क्रुद्ध हुन्छ, पहिले आफुलाइ जलाउँछ। मनमा ठूला ज्वारभाटा चल्छन्। शरिरभरी त्यसको दुखद प्रभाव पर्दछ। आफुसंग व्यवहार गर्न जान्दैन। 

व्यभिचारी बनिदिन्छ। बिना कामवासना व्यभिचारी बन्न सक्दैन। जब वासना आउँछ, तब फेरी मस्तिष्कले समता गुमाउँछ। तनाव र खिचाब आउँछ। उसमा यी कुरा जान्ने हैसियत छैन। सारा सुख गुमाउँछ। दुखको चपेटामा जीवन बिताउँछ।

दुर्व्यसनी गर्छ। रक्सी पिउँछ, चुरोट तान्छ। अनि जीवन संघर्ष हो भन्छ। यसरी त जीवन पक्का संघर्ष नै हो। जान्दा जान्दै; बगाउँछ, डुबाउँछ; उ नदिमा हामफाल्छ। भन्छ, पिडै पिडा छ, संघर्षै संघर्ष छ। अरे महानुभाव, जसको शरिर र मन नै थिलो थिलो भएको छ, शरिर भरी घाउ नै घाउ छ, उसलाइ अब जता घोचेपनि दुख्छ नै। अनि घोच्नेलाइ गाली गर्छ। सराप्छ। आफु प्रताडित बन्छ अनि अरुलाइ पनि बाढ्छ। 

उ आफै पिडक हो। आफैलाइ पिडा पुर्याउँछ। पिडक र पिडित बन्छ अनि व्यवहारिकताको भाषण छाट्छ।

मात्र शीलवान भएको भए, मन, मस्तिष्कलाइ आफ्नो गुलाम बनाउन सक्थ्यो। सोचेको गर्न सक्थ्यो । साच्चै सुखी बन्न सक्थ्यो। 

तर उ आफ्नै कर्मले आफ्नै शरिर र मस्तिष्कको पतन गराउँदैछ। न उसलाइ कुनै उपदेशले छुन्छ न कुनै गालीले टेर्छ। उ आफ्नो अडानमा अडिक छ। तर अडान गलत लिएको छ। किनकी उ मतिभ्रष्ट भएको छ।

म संग एउटा थोत्रो बाइक छ। जसको इन्जिनमा समस्या छ। गियरमा समस्या छ। उकालोमा गियर चेन्ज गर्दा बिचैमा रोकिइदिन्छ। भट् भट् र खट् खट् गरेर चर्को आवाज निकाल्छ। चढ्यो कि उत्रन मन लाग्छ। सहज चल्दैन। पुरै यात्रा भरी दुख दिन्छ। 

ए महानुभाव, यही शरीर र मस्तिष्क मात्र हो निजी सम्पति। यहि बिगारेर थोत्रो बनाएमा जीवनको यात्रा कसरी सहज हुन्छ? सबै यात्रा यहि शरीर र मन लिएर गर्नु छ। घिसार्दै लतार्दै जानु पर्ने अवस्था बनाएपछि, यात्रा दुखी नभए सुखी हुन्छ त? यति सहज कुरा उ बुझ्दैन। उ आफ्नै संघर्षमा छ, तर गलत संघर्ष गर्दैछ।

सुख खोज्छ, तर हरेक कदममा दुख रोप्छ। ए महानुभाव, रोप्दा निमको बिरुवा रोपेर फल आउने बेला आँपको आशा गरेर हुन्छ? के यो सम्भव छ ? यति स्पष्ट प्राकृतिक नियम बुझ्नै खोज्दैन। हरेक कदममा शील तोड्छ, अनि जब फल आउँछ रोइकराइ गर्छ, पश्चाताप गर्छ, हिनताबोध गर्छ। क्रुद्ध हुन्छ। आफैलाइ अझै प्रताडित पार्छ अनि सारा वातावरण दुखी बनाइदिन्छ। अनि फेरी यही कर्मले भविष्यको लागि थप दुख रोप्छ अनि दुखै भोग्छ। वस् उ यहि दुख चक्रमा चलिरहन्छ। उसलाइ यो सनातन धर्मको ख्याल छैन। यो प्राकृतिक स्वभावको ज्ञान छैन। किनकी उ मतिभ्रष्ट व्यवहारिकताको वकालत गर्छ।

छन त उ बुद्धिमान छ। तर बुद्धी गलत ठाउँमा लगाउँछ। उसलाइ एक ठाउँमा थिर बनाएर प्रश्न गर्ने हो भने, उ आफ्नो अव्यवहारिक कर्मको सयौं हैन हजारौं कारण देखाउन सक्छ। फलानो व्यक्ति, घटना अनि अवस्थाले गर्दा म बाध्य भएको हुँ भन्छ, आफ्नो बचाउ गर्छ। अनि आफ्नो मतिभ्रष्ट शालिकमा एउटा सुनको गजुर थप्छ।

अनैतिक व्यवहारको कारण मन अशान्त र अस्थिर भएको हुन्छ। यस्तो मन स्थुल (gross) हुन्छ। सतही ज्ञान मात्र ग्रहण गर्न सक्छ। 

नैतिक व्यवहारले मन शान्त र स्थिर हुन्छ। यस्तो मन सुक्ष्म (subtle) हुन्छ। तिक्ष्ण बन्छ। अनि सतही ज्ञान सहित गहिरा यथार्थ अनुभव (experience) गर्न सक्दछ। 

जब मन स्थिर हुन्छ, तब मात्र मस्तिष्कले आफ्नो र शरीरको आपसी स्वभाव अनुभव गर्न थाल्छ। 

विज्ञान (cognition): शरीरको पाँच इन्द्रियसंग आ-आफ्नो विज्ञान छ। अनि यी इन्द्रियको आ-आफ्नो विषय छ। नाकको विषय गन्ध, आँखाको दृश्य, कानको आवाज, जिब्रोको स्वाद र छालाको स्पर्श। जब यी विषयहरु आ-आफ्नो इन्द्रियसंग ठोकिन्छ तब यी इन्द्रियमा कम्पन (vibration) हुन्छ। इन्द्रियको विज्ञानले यी कम्पन ग्रहण गर्छ। जस्तो कि कानमा कुनै आवाज ठोक्कियो। आँखामा कुनै दृश्य ठोक्कियो आदि आदि।

संज्ञा (Intellect): तत्क्षण मस्तिष्कको दोस्रो पाटोले आफ्नो काम सुरु गर्छ। इन्द्रियको विज्ञानले ग्रहण गरेको कम्पनरुपी जानकारीलाइ आफ्नो पुराना याद र अनुभव (memories) को आधारमा संज्ञाले पहिचान गर्छ। अनि पहिचान पश्चात मुल्याङ्क गर्छ। जस्तो कि, कानले आवाज सुन्यो। संज्ञाले पहिचान गर्यो; यो त गालीको आवाज हो। अनि मूल्याङ्कन गर्छ, यो त नराम्रो हो। वा कानले सुनेको आवाज त प्रशंसाको हो, अनि मूल्याङ्कन गर्छ, यो राम्रो हो।

संवेदना (Sensation): जब संज्ञाले मूल्याङ्कन गर्छ तब तत्क्षण मस्तिष्कको तेस्रो पाटोले आफ्नो काम सुरु गर्छ। यसको काम हो, अनुभुत गर्नु। शरीरमा तत्कालै विभिन्न जीनरसायनिक (Bio-chemical), विद्युत चुम्बकिय (Electromagnetic) प्रतिक्रिया चल्छ। संज्ञाले गरेको मूल्याङ्कन अनुसार यी प्रतिक्रियाहरु चल्छन्। संज्ञाले जब राम्रो भन्छ तब यी प्रतिक्रियाको कारण शरीरमा सुखद संवेदनाको प्रवाह चल्छ। संज्ञाले जब नराम्रो भन्छ तब यी प्रतिक्रियाको कारण शरीरमा दुखद संवेदनाको प्रवाह चल्छ। जस्तो कि, कानमा आवाज ठोक्कियो। कानको विज्ञानले सो ग्रहण गर्यो। संज्ञाले पुरानो याद र अनुभवको आधारमा मूल्याङ्कन गर्यो। अरे, यो त गालीको शब्द हो। तब शरीरमा दुखद संवेदनाको लहर चल्यो। त्यस्तै संज्ञाले प्रशंसाको शब्दलाइ मूल्याङ्कन गर्यो। अति राम्रो। तब शरीरमा सुखद संवेदनाको लहर चल्यो। शरीरमा यस्तो अनुभुति गर्ने गराउने काम अन्तरमनले (unconscious mind) गर्छ।

संस्कार (Habit/Reaction): जब शरीरमा संवेदनाको प्रवाह हुन्छ तत्क्षण मस्तिष्कको चौथो पाटोले आफ्नो काम सुरु गर्छ। यसको काम हो आफ्नो स्वभाव अनुसार शरीरमा चलेको संवेदना माथि प्रतिक्रिया (reaction) गर्ने। जब शरीरमा सुखद: संवेदना चल्छ, तव स्वभावत मस्तिष्कको यो पाटोले 'चाहियो चाहियो' भन्छ। जब शरीरमा दुखद: संवेदना चल्छ, तव स्वभावत मस्तिष्कको यो पाटोले 'चाहिदैन चाहिदैन' भनी प्रतिक्रिया गर्छ। जस्तो कि, गालीको शब्द कानमा ठोक्कियो। नराम्रो भनी मूल्याङ्कन भयो। शरीरमा दुखद: संवेदनाको प्रवाह भयो। अनि प्रतिक्रिया हुन्छ, 'चाहिदैन चाहिदैन।' त्यस्तै, प्रसंसाको शब्द कानमा ठोक्कियो। राम्रो भनी मूल्याङ्कन भयो। शरीरमा सुखद: संवेदनाको प्रवाह भयो। अनि प्रतिक्रिया हुन्छ, 'चाहियो चाहियो।'  शरीरको संवेदना माथी प्रतिक्रिया गर्ने काम अन्तरमनले (unconscious mind) गर्छ।

मस्तिष्कको यो अन्तिम पाटो (संस्कार)ले गरेको प्रतिक्रिया अनुसार फेरी संज्ञाले अर्को मूल्याङ्कन गर्छ। संज्ञाले गर्ने प्रत्येक मूल्यांकनले फेरी शरिर कम्पित हुन्छ, अनि कम्पनको सुखद वा दुखद प्रकार अनुसार संस्कारले पुन: प्रतिक्रिया गर्छ। अनि सो प्रतिक्रिया पुन संज्ञाले मूल्याङ्कन गर्छ। यो दोहोरिरहन्छ। यो भव चक्र चलिरहन्छ । अर्थात यो भवित भइरहन्छ, अर्थात निर्माण भइरहन्छ। यसैकारण हो, कसैले एक शब्द गाली गर्दा त्यसको असर लामो समयसम्म परिरहन्छ। कसैले एक शब्द प्रसंशा गर्दा त्यसले असर लामो समय परिरहन्छ। त्यसैले अस्थिर मन चाडै थाक्छ। किनकी यो निरन्तर यो प्रतिक्रियाको खेलमा बाँधिएको छ। 

जसरी शब्दको मुल्याङ्कन हुन्छ, त्यसरी नै दृश्य, गन्ध, स्वाद अनि स्पर्शको मुल्याङ्कन भएर सो अनुसार शारीरिक संवेदना हुन्छन्। अनि यी संवेदनालाइ अन्तर मनले हरक्षण अनुभव गरिरहन्छ, अनि हरक्षण प्रतिक्रिया चलिरहन्छ। अन्तरमनले गरेको प्रतिक्रियाबाट माथिल्लो मन (concious mind) प्रभावित हुन्छ। त्यसमा विचार र भावनाका लहर उत्पन्न हुन्छ। अनि फेरी सोही विचार र भावना पुन: मूल्याङ्कन हुन्छन्। यी प्रत्येक मूल्याङ्कनले शरिरमा थप संवेदनाको प्रवाह हुन्छ। अनि यो चक्र चलिरहन्छ। मन शरिरमा परिवर्तित हुन्छ (mind creates matter), अनि शरीरले फेरी मन उत्पन्न गराउछ (matter creates mind)। जबसम्म व्यक्ति मन र शरीरको यो प्रक्रिया प्रत्यक्ष अनुभव गर्दैन, तब उ जहिल्यै बाहिरी घटना, परिस्थिति र व्यक्तिमा आफ्नो सुख र दुखको कारण देख्छ, जीवनभर संघर्ष गर्छ।

अनि यहि कारण हो, मानिस दुर्व्यसनीको लतमा पर्ने। अर्थात दुर्व्यसनको बानी बसेको छ। स्वभाव बनेको छ। जब रक्सी वा चुरोटको रसायन शरीरले लिन्छ, तब यसको कारण शरीरमा एक प्रकारको संवेदना प्रवाह हुन्छ। यदि कुनै व्यक्तिलाइ उसको वर्तमान अवस्थासम्म यो प्रकारको संवेदना भन्दा सुखद अरु संवेदना अनुभुत भएको छैन भने, उसको लागि यो नै सर्वाधिक सुखद अनुभव हुन्छ। अनि मस्तिष्कको चौथो पाटो (संस्कार)ले यहि सुखद संवेदना माथी प्रतिक्रिया गर्छ, 'चाहियो चाहियो'। यहि 'चाहियो चाहियो' ले भोलिपल्ट फेरी पिउँछ। फेरी थप 'चाहियो चाहियो' भनी अन्तरमनले प्रतिक्रिया गर्छ। बिस्तारै अन्तरमनको 'चाहियो चाहियो' भन्ने स्वभाव अझै पुष्ट हुन्छ। अनि छिट्टै छुटाउनै नसक्ने बानी बन्छ, लत बन्छ। अब उ आफैले प्रयत्न गर्छ छुटाउन, तर मात्र केही सफल हुन्छन्। घटना सुनिन्छ, रिह्याब गएर पनि नछुटेको, इलेक्ट्रिक सक लगाउँदा पनि नछुटेको। किनकी स्वभाव परिवर्तन गर्ने यी सहि तरिका होइनन। 

मैले सानो फुलबारी बनाएको छु। केही हप्तामै झारै झार भरिन्छ। अनि दिनभर लगाएर झार उखेल्छु। त्यो बेला त लाग्छ अब झार फेरी आउँदैन। तर हप्ता दिन नबित्दै फेरी उस्तै हुन्छ। पटक पटक उखेलिरहन्छु, आइरहन्छ, किनकी जरा अझै माटो मुनी छ। जबसम्म जरै देखि बिनाश हुन्न तब सम्म त्यसको वास्तविक विनाश भएको हुँदैन। कुनै पनि स्वभाव छुटाउन त्यसको जरा निस्कन जरुरी हुन्छ। स्वभाव जहाँ बनेको छ, त्यहाँसम्म पहुँच हुन जरुरी हुन्छ। अनि सबै स्वभाव मस्तिष्कको सबैभन्दा भित्री तहमा बनेको छ, अर्थात अन्तरमन (unconscious mind) मा छ। जबसम्म अन्तरमनमा पहुँच छैन, तबसम्म स्वभाव, बानी, लतको वास्तिवकता देखिदैन, र छुटाउन झन्डै असम्भव हुन्छ। त्यसैले त जो कोहीले आफ्नो स्वभाव परिवर्तन गर्न सक्दैनन्। यो पटक्कै सजिलो काम होइन।

अस्थिर मन स्थुल हुन्छ, अर्थात एकढिक्का भएको हुन्छ। यस्तो मस्तिष्कले यी सुक्ष्मरुपमा भइरहेका तीव्र प्रक्रियाहरु अनुभुत गर्न सक्दैन। त्यसैले उ सतही वास्तविकतामा जीवन गुजार्छ।

कसैले गाली गर्यो, अनि गालीले दुख वा चोट पुर्यायो। स्थुल मस्तिष्कले देख्छ कि 'म यो गालीको कारण दुखी भएको हो', अनि गाली गर्ने व्यक्तिलाइ दोषी देख्छ। यस्तो मस्तिष्कधारी व्यक्तिले आफ्नो खुसीको लागि अन्य व्यक्ति, घटना र स्थिति सुधार गरेर जीवन बिताउँछ। जब एउटा व्यक्ति, घटना र स्थितिलाइ आफ्नो अनुकुल बनाउँछ तब अर्को व्यक्ति, घटना र स्थितिले गर्दा दुखी हुन्छ, अनि त्यो सुधार्न प्रयत्न गर्छ। अनि जीवनभर यहि गरिरहन्छ।

कसैले प्रशंसा गर्यो, प्रशंसाले आनन्द आयो। स्थुल मस्तिष्कले देख्छ कि 'म यो प्रशंसाको कारण सुखी भएको हो', अनि प्रशंसा गर्ने व्यक्तिलाइ मित्र सम्झन्छ। यस्तो मस्तिष्कधारी व्यक्ति सदैव आफ्नो खुसीको लागि अन्य सुखद व्यक्ति, घटना र स्थितिको खोजी गर्दैमा जीवन बिताउँछ। एउटा व्यक्ति, घटना र स्थितिबाट आनन्द लिन्छ। अनि फेरी अर्को सुखद घटना, व्यक्ति र स्थिति प्राप्तिको लागि संघर्ष गर्छ। अनि जीवमनभर यहि गरिरहन्छ। उसको जीवनमा सु;ख स्थिर भएर कहिल्यै आउँदैन।

जब मन स्थिर र शान्त हुन्छ तब सुक्ष्म बन्छ। सुक्ष्म मनले मस्तिष्क र शरिरका यी आणविक तहमा भएका घटना र प्रक्रिया स्पष्ट अनुभव गर्दछ।

कसैले गाली गर्यो। जब संज्ञाले सो गालीलाइ नराम्रो भनी मुल्याङ्क गर्छ तब शरीरमा दुखद संवेदना उत्पन्न भएको देख्छ। यस्तो मस्तिष्कलाइ स्पष्ट अनुभव हुन्छ कि, गाली गर्ने दोषी रहेनछ। दोष त मस्तिष्कको त्यो प्रक्रियामा रहेछ जसले शरिरमा उत्पन्न भएको दुखद संवेदनालाइ 'चाहिदैन चाहिदैन' भनेर प्रतिक्रिया गर्छ। धकेल्न खोज्छ। त्यो दुख भोग गर्छ। 

जब सारा यो अनुभवमा उत्रन्छ तब मस्तिष्कले आफ्नो स्थिरताको बलमा यो प्रतिक्रिया बन्द गर्न प्रयत्न गर्छ। शरीरमा यी संवेदना भोग गर्ने स्वभाव छुटाउन अभ्यास गर्छ। दुखद संवेदना भोग्न छोड्छ, अब 'चाहिदैन चाहिदैन' भन्दैन, मात्र हेर्न प्रयत्न गर्छ। मस्तिष्क विस्तारै भोक्ताभाव बाट द्रश्टाभावमा प्रतिष्ठित हुन्छ। अब यो मस्तिष्कमा सो चक्र चल्दैन। अब जब गाली सुन्छ, तब शरिरमा दुखद संवेदना उत्पन्न भएको देख्छ। तर प्रतिक्रिया गर्दैन, सो संवेदनाको लहर केवल हेरिरहन्छ, एक दर्शक बनेर। 

पहिले नाटकमा सहभागी हुन्थ्यो, अनि नाटक लामो समयसम्म चलाइरहन्थ्यो। अब केवल नाटक हेर्छ दर्शक बनेर। नाटकको आफ्नो समय सिमा छ, समय आएपछि सक्किन्छ। अर्थात जब प्रतिक्रिया बन्द गर्छ तब देख्छ कि दुखद संवेदना छिट्टै सक्कियो। दुख अन्त्य भएको प्रत्यक्ष अनुभव गर्छ। शरीरमा अनुभुत गर्छ। जब यसरी प्रतिक्रिया बन्द गर्छ तब संज्ञाले पुन: मूल्यांङ्कन गर्ने विषय पाउँदैन। त्यसैले 'मूल्याङ्कन - संवेदनाप्रवाह - प्रतिक्रिया - मूल्याङ्कन'को यो चक्र तोडिन्छ। गालीका घटना आउँछन्, तर अब यी गालीका कारण दुखी हुने स्वभाव भने परिवर्तन हुँदैछ। किनकी प्रतिक्रिया गर्ने मस्तिष्कको स्वभाव अब सुध्रदै छ। मस्तिष्क आफ्नो वशमा आएको छ। मस्तिष्क अब आफ्नो स्वभावको गुलाम छैन। 

यो निरन्तर चलिरहने 'प्रतिक्रिया र मूल्याङ्कनको चक्र' जब टुट्न थाल्छ, तब निकै गह्रौ बोझ बिसाएको अनुभव हुन्छ। शरीरमा पनि 'दुखद संवेदनाको निरन्तर प्रवाह' रोकिएको छ। शरीर हलुंगो भएको छ। मस्तिष्क स्वच्छ र स्फुर्त भएको छ। 

अब देख्छ कि, हरेक काम स्वतस्फूर्त हुन थाल्यो। लठ्ठिएर अल्छि भएर बस्ने स्वभाव बदलिन थाल्यो। ४ घन्टा मन नलागि नलागि पढ्ने वा काम गर्ने अब ८ घन्टा मन लगाएर हुन थाल्यो। ८ बढेर १० पुग्यो, १० बढेर १२, १४, १६ घन्टा पुग्यो। काम ३-४ गुणा बढेको छ, तर पहिले ४ घन्टा काम गर्दैमा जुन थकान थियो, अहिले ४ गुणा काम गर्दा त्यति पनि थकान छैन।

निन्द्राको समय घटेको छ, किनकी शरीर पहिलेजस्तो थकित छैन। 

निन्द्रा पहिले भन्दा गहिरो छ। तर शरिर लठ्ठिएको छैन।

सपनाहरु स्पष्ट देखिन्छन् र उठ्दा पनि याद भएका छन्। 

निर्णय गर्ने क्षमता बढेको छ, किनकी मस्तिष्क पहिले झै विचार र भावनाको गञ्जागोलमा डुबेर बसेको छैन।

आधा वाक्य सोचेर अर्को विचार सुरु हुने स्वभाव परिवर्तन हुँदैछ। विचारहरु स्पष्ट र पूर्ण हुँदैछन।

स्वासको गति र मुटुको गति कम भएको छ। स्वभावत: शरीरमा आराम महसुस हुँदै छ। 

मस्तिष्क पहिले भन्दा कुशल छ, किनकी शरीरको अणू अणूमा भइरहेको संवेदना उपर प्रतिक्रिया गर्न लागिपरेको छैन। मस्तिष्कले विस्तारै आफ्नो सहि काम सिक्दैछ, र सहि कदम चाल्दैछ। 

मनको ठूलो हिस्सा चेतन (conscious) भएको छ, र बाँकी पनि हुने क्रममा छ। त्यसैले शरीरको उपस्थिति महसुस भएको छ। र यसको छुट्टै उमंग अनुभव भएको छ।

पहिले मन स्वभावत खिचाब र तनावमा रहन्थ्यो। अब मन स्वभाव: प्रफुल्लित छ। 

मस्तिष्क अब हरेक समय ताजा छ र ताजा राख्न प्रयत्न भइरहेको छ। मस्तिष्क ताजा भएकाले शरीर स्वस्थ बनेको छ। 

वस् इन्जिन र गियरको अवस्था ठिक छ। अब पहिले उक्लन नसकेको उकालो सहजै उक्लन्छ, त्यो पनि आवाज ननिकाली।

किनकी मनको स्वभाव परिवर्तन भएको छ र हुँदैछ। 'चाहिदै चाहिदै' र 'चाहियो चाहियो' को स्वभाव अब घट्दो छ। जे आउँछ स्वीकार गर्ने स्वभाव बनेको छ, र बन्दैछ। पहिले त केवल बुद्धीले मात्र यो कुरा बुझेको थियो। तर अन्तरमन (unconscious mind) को स्वभाव उस्तै थियो। अब अन्तरमनको स्वभाव नै परिवर्तित छ र हुँदैछ। यो सहि र यो गलत भनी बुद्धीले चिन्तन गर्नु जरुरत छैन, र अर्थ पनि छैन। किनकी चिन्तन गर्दा बुद्धीले जे विचार उत्पन्न गराउँछ सो अन्तरमनको स्वभाव अनुसार नै उत्पन्न हुन्छ। जब यसको पनि प्रत्क्षण अनुभव हुन्छ, तब अन्तरमनको स्वभाव परिवर्तन गर्नु कति महत्वपूर्ण रहेछ स्पष्ट हुन्छ। अन्तरमनको स्वभाव परिवर्नत गर्न मन स्थिर र शान्त राख्नुपर्ने आवश्यकता स्पष्ट हुन्छ। अनि मन स्थिर र शान्त राख्न शील पालन गर्नुपर्ने स्पष्ट अनुभुत हुन्छ।

यसरी मान्छेले 'मानव मस्तिष्कको वास्तविक अवस्था र शक्ति महसुस गर्छ।

यसरी आफुसंग कसरी व्यवहार गर्ने भनी व्यक्ति सिक्दछ। अनि सोही व्यवहार अरुसंग पनि गर्न थाल्दछ।

यसरी आफ्नो मन र शरीरलाइ कसरी स्वस्थ राख्ने भनी व्यक्ति सिक्दछ। अनि सोही गर्न अन्यलाइ पनि भन्दछ।

यसरी मतिभ्रष्ट व्यवहारिकता मतियुक्त व्यवहारिकतामा परिवर्तन हुन्छ।



No comments:

Post a Comment