के सबैको लागि १ सेकेन्ड उति नै समय हो? समयको गति किन फरक-फरक हुन्छ ?



के तपाईले ख्याल गर्नुभएको छ ? मन उदास भएको दिन, दिन कटाउनै गाह्रो हुन्छ। त्यो दिन नै लामो लाग्छ, तर जुन दिन रमाइलो महसुस हुन्छ, साथीभाइसंग घुम्न, रमाउन थालिन्छ, दिन गएको पत्तै पाइदैन, त्यो दिन छोटो लाग्छ। यस्तो किन हुन्छ ? तपाईलाई १ मनिट जति लामो महसुस हुन्छ, के मैले पनि त्यति नै लामो महसुस गर्छु ? के समय व्यक्ति अनुसार फरक हुन्छ ? 







के समयको गति पनि छिटो र ढिलो हुन्छ ?


विज्ञान भन्छ उभिएको मान्छेको खुट्टा भन्दा टाउको बुढो हुन्छ। सुन्दा अचम्म लाग्छ तर यहि कुरा हिन्दुहरुको धर्म ग्रन्थहरुमा पनि भेटिन्छ। गिता र वेदमा समयको यो अनौठो विशेषता बारे उल्लेख गरेको भेटिन्छ। पहिले पहिले निकै सुनिन्थ्यो, आजभोलि पनि सुनिन्छ: वेद, गिता पश्चिमाहरुले लगे रे। हामी जुन वेद र गितालाई अझै ढोगिमात्र रहन्छौ, पश्चिमी देशहरु त्यैमा लुकेका रहस्योद्घाटन गर्दैछन्, नयाँ नयाँ खोज गर्दैछन्।



तपाई जुनसुकै धर्म वा ग्रन्थमा विश्वास गर्ने भएपनि आफ्नो आस्थालाई एकातिर राखेर पढ्नुस्, किनकी यहाँ विश्वास होइन विज्ञानको कुरा हुदैछ।


पक्का त भन्न सकिन्न, तर आफ्नो जीवनकालमा अल्बर्ट आइन्स्टाइनले पनि गिता वा वेदका केही कुरा त पढेकै हुनुपर्छ। नत्र जुन कुरा वेदमा पहिल्यै थियो ठ्याक्कै त्यही अल्बर्ट आइन्स्टाइनले कसरी पत्ता लगाए ? यसको अर्थ आइन्सटाइनको दिमाग कमजोर भन्न खोजेको होइन, तर आइन्सटाइनको चर्चित सापेक्षतावादको सिद्धान्त बुझ्न नै यति गाह्रो छ कि जब उनले यो सिद्धान्त प्रतिपादन गरे भनिन्छ संसारका केही व्यक्तिले मात्र बुझेका थिए रे। र यसैबारे वेदमा भेटिदाँ अल्वर्ट आइन्सटाइन र वेदको सम्बन्ध नकार्न सकिन्न।



पहिले वेदको कुरा:


हिन्दु धर्म ग्रन्थहरुमा ब्रह्माण्ड निर्माता 'ब्रह्मा'को उमेरको बारेमा निकै रोचक तथ्यहरु उल्लेख गरिएको छ। यस अनुसार, ब्रह्माको उमेर १०० वर्ष हुने कुरा बताइन्छ। तर रोचक त यो छ कि, सोही धर्मग्रन्थ मान्छेको उमेर पनि १०० वर्ष हुने बताउँछ। 


विज्ञान भन्छ, यो ब्रह्माण्ड करिब १४ अर्ब वर्ष पहिले बनेको थियो। धर्मग्रन्थ भन्छ, कुनै एक ब्रह्माण्डको एउटै निर्माणकर्ता छ, एउटै ब्रह्मा छ। अब कुरोको चुरो यो छ कि, ब्रह्माको उमेर र मान्छेको उमेर बराबर हो कि, धर्मग्रन्थ गलत हो? 



ब्रह्माको उमेर १०० वर्ष भन्दै धर्मग्रन्थमा एक थप कुरा पनि जोडिएको छ। यो १०० वर्ष उनकै ब्रह्मलोकको समय हो, अर्थात यो समय र पृथ्वीको १०० वर्षबीच फरक छ।


वेद अनुसार, ब्रह्माको १ दिन बित्दा पृथ्वीमा १ कल्प बितिसक्छ। 


१ कल्पमा १००० महायुग हुन्छ। 


१ महायुगमा ४ युग हुन्छ। 


जसअन्तर्गत सत्य युग (जुन १,४०० दिव्य वर्ष), त्रेता युग (१, ४०० दिव्य वर्ष), द्वापर युग (२,४०० दिव्य वर्ष), कलि युग (१,२०० दिव्य वर्ष) पर्दछ।


अर्थात १ महायुगमा १२,००० दिव्य वर्ष हुन्छ। 


र १ दिव्य वर्षमा ३६० वर्ष हुन्छ।


हिसाब गर्दा, ब्रह्मलोकमा १ दिन बित्दा पृथ्वीमा १००० * १२००० * ३६० ‍‍= ४,३२०,०००,००० वर्ष बितिसक्छ।


हामीलाई १०० वर्ष जति लामो (वा छोटो) अनुभव हुन्छ, ब्रह्मालाई उनको १०० वर्ष त्यति नै अनुभव हुन्छ। मानौँ कुनै तरिकाले तपाई ब्रह्मलोकमा पुग्नु भयो, त्यहाँ पुग्दा तपाईको घडीमा मानौ बिहानको ९ बजेको थियो, तपाई अर्को दिनको बिहानको ९ बजे त्यहाँबाट पृथ्वीमा फर्कदाँ पृथ्वीमा ४, ३२०,०००,००० वर्ष बितिसकेको हुनेछ। यो सुन्दा जति अनौठो र असम्भव लाग्छ, यो त्यति नै सत्य र रोचक छ। यहि सिद्धान्तलाई समेटेर आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए र यो प्रमाणित पनि भइसकेको छ।


के छ आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त (Theory of Relativity)मा ?

सापेक्षतावादको सिद्धान्त अन्तर्गत दुई सिद्धान्त पर्छ। सामान्य सापेक्षतावाद (General Theory of Relativity)को सिद्धान्त र विशेष सापेक्षतावादको सिद्धान्त (Special Theory of Relativity)। आइन्स्टाइनले सन् १९०५ मा विशेष सापेक्षतावादको सिद्धान्त प्रकासित गरेका थिए। यो परमाणु तथा अणुहरुको (Elementary Particle) बारेको सिद्धान्त हो, यसमा पछि अन्य वैज्ञानिकहरुले पनि थप खोजहरु गरेका छन्। यो सिद्धान्त र यसबारेमा अन्य वैज्ञानिकहरुले गरेको खोजहरु अणु, परमाणु, इलेक्ट्रोन, प्रोटोन, क्वार्क्स, फर्मियोन्स, अहिले चर्चामा आएका हिक्स बोजोन (जसलाई गड पार्टिकलको नाम पनि दिइएको छ), लार्ज हेड्रोन कोलाइडर आदीसंग सम्बन्धित छ।


आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त सन् १९०७ देखि १९१५ बिचमा प्रकाशित भएको थियो। यो गुरुत्वबलसंग सम्बन्धित सिद्धान्त हो। सामान्य सापेक्षतावादको सिद्धान्त अनुसार १) द्रुत गतिको अवस्था र २) गुरुत्व क्षेत्रमा स्थिर अवस्था (जस्तै, पृथ्वीको सतहमा उभिदाँ) वस्तुतह एउटै हुन। यसले अन्तत: भन्न खोजेको कुरा यो हो कि, स्वतन्त्र खसाइ (Free Fall)मा रहेको वस्तु खसिरहन्छ किनकी जब वस्तुहरुमा कुनै बल (Force) लगाइदैन, वस्तुहरु स्वतन्त्र नै खस्छन्, न कि यो क्लासिकल मेकानिक्स (Classical Mechanics) ले भनेझै गुरुत्वबलको कारणले गर्दा भएको हो। यो सिद्धान्त क्लासिकल मेकानिक्स र विशेष सापेक्षतावादको सिद्धान्तसंग पटक्कै मेल खादैन। सन् १९१५ मा आइन्स्टाइनले अन्तरिक्षसमय (spacetime) बक्र (curve) रहेको सिद्धान्त अघि सारे। उनले प्रतिपादनको गरेको 'आइन्स्टासइन फिल्ड इक्वेसन्स (Einstein field equations) पिण्ड,शक्ति, मोमेन्टमसंग अन्तरिक्षसमयको सम्बन्धबारे रहेको छ ।


सामान्य सापेक्षतावादको सिद्धान्त के भन्छ?


१) गुरुत्व शक्ति बढी भएको ठाउँमा समय ढिलो चल्छ। जसलाई Gravitational Time dilation भनिन्छ।


२) गुरुत्वाकर्षण क्षेत्रको उपस्थितिमा प्रकाशको किरण बाङ्गिन्छ। अर्थात सूर्य लगायत ताराहरुको नजिकबाट पास हुने प्रकाशका किरणहरु बाङ्गिन्छन्।


३) अन्तरिक्षमा घुम्दै गरेको पिण्ड (वस्तु)ले आफुसंगै अन्तरिक्ष समयलाई तान्दछ। जसलाई फ्रेम ड्र्यागिङ (Frame Dragging) नाम दिइएको छ।



४) ब्रह्माण्डको आकार बढिरहेको छ अर्थात ब्रह्माण्ड Expand भइरेहको छ र ब्रह्माण्डको सबैभन्दा बाहिर क्षेत्र प्रकाशको गति भन्दा बढी गतिमा हामी भन्दा टाढा गइरहेको छ।



यो सिद्धान्तले भन्न खोजेको मुख्य कुरा के हो?


आइन्स्टाइनको यो सिद्धान्तलाई सामान्य तरिकाले यसरी बुझौ। हामी जति गुरुत्वबलको प्रभावमा हुन्छौ त्यति नै हाम्रो लागि समय ढिलो चल्छ। साथै हाम्रो गति जति बढी हुन्छ त्यति हाम्रो लागि समय ढिलो चल्छ। 


यसबारेमा बुझ्न अन्तरिक्षसमय बुझ्नु पर्छ। हामी केवल दुई क्षेत्रमा यात्रा गर्न सक्छौ। १) अन्तरिक्षमा र २) समयमा।


यदि हामी स्थिर छौ भने हाम्रो लागि अन्तरिक्ष (Space)को गति शुन्य हुन्छ, यो बेला सबै गति समयको मात्र हुन्छ। त्यसैले स्थिर वस्तुको लागि समय सबैभन्दा छिटो चल्छ।


तर जति हाम्रो अन्तरिक्षमा गति बढ्छ अर्थात हामी जति गतिमा यात्रा गर्छौ त्यति नै समयको गति कम हुँदै जान्छ। अर्थात द्रुत गतिमा समय ढिलो चल्छ। र प्रकाशको गतिमा यात्रा गर्छौ भने हाम्रो लागि समयको गति शुन्य हुन्छ अर्थात प्रकाशको गतिमा समय रोकिन्छ। यसबारेमा बुझ्न यो ग्राफ हेरौ।



यी ग्राफहरुमा x-अक्षले अन्तरिक्षमा गरिएको चाल र y-अक्षले समयको चाल देखाउँछ। सजिलो तरिकाले बुझौ, यदि कुनै वस्तु केही गतिले चलायमान छ भने x-अक्षले सोको परिमाण (Value) जनाउँछ। र समय कति बित्यो भनि y-अक्षले जनाउँछ।


पहिलो ग्राफ: यदि अन्तरिक्षमा अधिकतम गति (प्रकाशको गति) ले यात्रा गरिन्छ भने समयको परिणाममा कुनै फरक हुदैन अर्थात समय स्थिर हुन्छ।


दोस्रो ग्राफ: यदि वस्तु स्थिर छ भने त्यो केवल समयमा गतिशिल छ। अर्थात स्थिर वस्तुको लागि केवल समयमात्र व्यतित हुन्छ। 


तेस्रो ग्राफ: यदि वस्तुको केही गति (speed )ले चलाएमान छ भने स्थिर वस्तुको झै उसको लागि समय व्यतित हुँदैन। दोस्रो ग्राफमा स्थिर वस्तुको लागि समय जति छिटो चलेको छ, अन्तरिक्षमा चलिरहेको वस्तुको लागि (तेस्रो ग्राफमा) समय त्यति छिटो चलेको छैन। अर्थात वस्तुको गति अनुसार समयको गति पनि फरक हुन्छ। र यो प्रमाणित भएको सिद्धान्त हो।


कसरी प्रमाणित गरियो?


यो सिद्धान्त पटक पटक प्रमाणित भइसकेको छ। बुध ग्रहले सूर्यलाई घुम्ने बाटो (Orbit) बारे न्युटनको गुरुत्वाकर्षण सम्बन्धि सिद्धान्तले व्याख्या गर्न सकेको थिएन। न्युटनको सिद्धान्तले कुनै ग्रह र सूर्यबीचको गुरुत्वाकर्षण शक्तिको गणितिय परिणाम दिएपनि अन्य ग्रहको भन्दा बुध ग्रहले सूर्यलाई घुम्ने कक्ष किन फरक भनि बताउन सकेको थिएन। अन्तरिक्षमा आफैमा पनि घुम्दै गरेको पिण्डले आफ्नो वरिपरि रहेको अन्तरिक्ष (अन्तरिक्षसमय) लाई पनि तान्दछ भनि आइन्स्टाइनले पत्ता लगाएपछि मात्र बुध ग्रहको यस्तो व्यवहारको वैज्ञानिक कारण भेेटिएको थियो।


त्यस्तै सूर्य भन्दा ठिक पछाडी रहेका ताराहरु देख्न सकिएकाले ठूलो पिण्डको उपस्थितिमा प्रकाशको किरण बाङ्गिने प्रमाणित भएको थियो। पृथ्वीबाट हेर्दा सूर्यले ती ताराहरु छेक्थ्यो। यदि प्रकाश सिधा आउने भए ती ताराहरु देखिन्थ्यो। 


यो प्रमाणित गर्न, सूर्य भन्दा ठिक पछाडीका ताराहरु पृथ्वीबाट देखिनुपर्ने थियो। तर ती ताराहरु भन्दा सूर्य पृथ्वीको नजिक भएकाले ताराहरुको प्रकाश सूर्यको प्रकासको कारण देख्न सकिदैन्थ्यो। त्यसैले खगोलशास्त्रीहरुले खग्रास सूर्य ग्रहण लागेको बेला सूर्य भन्दा ठिक पछाडीका ताराहरु देखिन्छ कि भनि टेलिस्कोपबाट हेरेका थिए। आइन्स्टाइनले भनेझै प्रकाशको किरण ठूलो पिण्डको उपस्थितिमा नबाङ्गिने थियो भने सूर्यको ठिक पछाडीका ती ताराहरु देख्न सकिने थिएन। तर पटक पटकको प्रयोगमा सूर्यले छेक्ने ती तारहरु पनि पृथ्वीबाट देख्न सकियो।


र रह्यो समय र अन्तरिक्षको प्रमाण:


हामीले हातमा बाध्ने घडी, कुनै दुईवटा लिनुस् अनि एउटै समय सेट गर्नुस्। महिना दिनमै ती घडीले फरक फरक समय देखाउँनेछन्। केही वर्षमा यी घडीबीच मिनेटको फरक भइसक्छ। तर परमाणु घडी (Atomic watch) यस्तो घडी हो जसमा लाखौँ वर्षसम्म पनि समय तलमाथी पर्दैन। (परमाणु घडी बारे थप अर्को लेखमा)


दुई परमाणु घडी (Atomic clock) को समय ठिक एउटै मिलाइयो। एउटालाई पृथ्वीमै राखियो अनि अर्कोलाई जेट विमानमा राखेर द्रुत गतिमा पृथ्वीको चक्कर लगाइयो। र दुवै घडीलाई फेरी एकै ठाउँमा ल्याइ समय दाँज्दा ती घडीबीच समय फरक पाइयो। जुन परमाणु घडीलाई विमानमा राखेर उडाइएको थियो सो पृथ्वीमा स्थिर राखिएको घडी भन्दा ढिलो पाइयो। अर्थात पृथ्वीको घडी अगाडी बढिसकेको थियो, विमानमा राखिएको घडी अझै पछाडी नै थियो। भलै सो जेट विमान प्रकाशको गतिमा थिएन, तर जति गतिमा सो विमान उडाइएको थियो, आइन्स्टाइनको गणितिय सुत्रमा राखि हिसाब गर्दा पनि सोही समय फरक हुने कुरा मिल्न गयो। यो सिद्धान्त पटक पटक प्रमाणित भइसकेको छ। यो सिद्धान्तको नभएको भए जिपिएस (Global Positioning System), इलेक्ट्रोनक माइक्रोस्कोप (Electronic Microscope), पार्टिकल एक्सिलरेटरले काम गर्न ( particle accelerators) थिएन। (यसबारेमा थप अर्को लेखमा)


मानौ, ब्रह्मलोक साच्चै छ। अनि ब्रह्मालाई आफ्नो १०० वर्ष त्यति नै लामो लाग्छ, जति हामीलाई हाम्रो १०० वर्ष लाग्छ। तर ब्रह्मलोकमा १ दिन बित्दा पृथ्वीमा किन करौडो वर्ष बित्छ? आइन्स्टाइनको यो प्रमाणित भइसकेको सिद्धान्त प्रयोग गर्ने हो भने, केवल दुई कुरा सम्भव देखिन्छ। किन त ब्रह्मलोक अत्याधित गुरुत्वबल भएको क्षेत्र हो। अर्थात त्यहाँ समय यति ढिलो चल्छ कि त्यहाँ १ दिन बित्दा तुलनात्मक रुपमा कम गुरुत्वबल भएको पृथ्वीमा करौडो वर्ष बितसक्छ। वा, दोस्रो सम्भावना, ब्रह्मलोक आफैमा यति गतिमा ब्रह्माण्डको यात्रामा छ कि उसको लागि समयको गति निकै कम छ, अर्थात अत्याधिक अन्तरिक्ष गतिको कारण समयको गति ब्रह्मलोकमा ढिलो छ। 




प्रश्न: सूर्यबाट पृथ्वीमा प्रकाशको किरण आइपुग्न ८ मिनेट २० सेकेन्ड लाग्छ। कुनै तरिकाले सूर्यको सतहमा रहेको प्रकाशको किरणसंगै एउटा घडी (घडी A) बाँधियो (मानौं) र अर्को घडी (घडी B) पृथ्वीमा राखियो। दुवै घडीको टाइमर सुरु गरियो। टाइमर सुरु हुनासाथ सूर्यको सतहबाट सो किरण पृथ्वीतिर हानियो। पृथ्वीमा बसेको तपाईले घडी B हेरिरहेनु भएको छ, समय बित्दै गयो, र घढि B ले ठिक ८ मिनेट २० सेकेन्ड देखाउँदा सो किरण पृथ्वीमा आइपुग्यो। अब भन्नुस् सूर्यको सो किरणसंगै आएको घडी A ले कति समय देखाउँछ र किन ?

No comments:

Post a Comment